कर्म कथा

६६, अझै खेतमा, ‘छोराहरुको कमाई किन खाने ?’

टन्टलापुर घामले हेम्जा रनक्कै रन्केको छ। घामको रापले मकैका पात बटारिएका छन्। सिमीको बोट जाँगर मरेजस्तै गरि ओइलाएरका छन्। टाउको थिच्ने गर्मी छल्न कहाँ जाउ भएको बेला खड्गबहादुर छन्त्याल भने खुरुखुरु काम गर्दैछन्। मानौ उनलाई त्यो धापिलो तातोले केही फरकै पारेकै छैन।

टाउकोमा टोपी, हात र खुट्टा ढपक्कै ढाक्ने गरी कपडा। झ्वाट्ट हेर्दा लाग्छ, ‘यो मान्छे सद्दे त छन्, गर्मीमा पनि जाडोको झै लुगा छ। जाडोमा के गर्छन् होला।’

हुन त साउदीमा ४५ डिग्री सेल्सीयस भन्दा माथिको गर्मी खेपेको छन्त्याललाई ३५ डिग्री घामले के नै फरक पार्थ्याे र। कामकै सिलसिलामा साउदीको निसास्सिँदो गर्मी २० वर्षसम्म सहे। त्यसैले त गर्मी भगाउन हातले, कापीले हम्कनेका अगाडि उनी काँक्रो झोलामा भर्दै जोख्दै छन्।

‘यहाँ त काम गर्ने वातावरण राम्रो छ, काम फरक छ, गाडी आएर ट्या ट्या कराएको कराई गर्ने, एउटा बल्ल भरेर पठायो, सास फेर्ने पाएको छैन, फेरि अर्को गाडी आउने लौ लौ यो भएन, यो साग यो मूला उखल्न पर्‍यो, यो अंगुर टिप्न पर्‍यो यो हाँगा पात काट्न पर्‍यो त्यहाँ हेर्न बाचम्यान हुन्थ्यो, भनेको मान्नै पर्‍यो।’ ढाड सोझो गर्न नपाउने बेफुर्सदको बखान गर्दै छन्त्याल भन्न थाले, ‘दुईजना सँगै भयो भने कुरा गर्छन् भनेर एउटालाई ओल्लो अनि अर्कोलाई पल्लो कुनामा राखिदिन्थे। यहाँ त बोल्न कुरा गर्न पाइन्छ, अनुहार हेरे ङिच्च हाँस्न पनि।’

गर्मी सहने उनको क्षमताको रहस्य बल्ल खुल्यो।

त्यसपछि काक्रोबारीको गोठाले बनेको गाँठोलाई फुकाउन थाले, ‘पैसाले मान्छेलाई कहिले पनि पुग्दैन, मरेर सिलिक्क परेर खोलामा पुगेपछि मात्र सिदिन्छ।’

कपाल सेतै फूलेका छन्, हात गोडा र अनुहारमा बढ्यौलीको संकेत छन्। उमेर ६६ वर्ष, घर म्याग्दी। घरमा श्रीमती, बुहारी छोरी छन्। दुई छोरा विदेशमा काम गरिरहेका छन्। आफ्नै घर छ। तर काम गरेर उनी महिनाको १५ हजार तलब थाप्छन्। ‘मनको भावना उस्तै हो यो मन पैसाले कहिले भरिँदैन।’ छन्त्याल भन्छन्, ‘सकुन्जेल काम गर्ने हो, ६,८ वर्ष सक्छु जस्तो लाग्छ।’

हेम्जा एग्रो फार्मको हाइटेक ग्रिन हाउसमा लटरम्म जापनिज काँक्रो फलिरहेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत बनेको हाइटेक ग्रीन हाउस उनको कर्मथलो हो। उनी त्यो फर्म अनि त्यहाँका बाली रेखदेख गर्छन्।

दुईवर्ष भयो बिहान बेलुका खाना खान घर गएको अरुबेला फार्ममै बास। खुशी छन्, साउदीमा काम गर्दा दुई वर्षमा एकपल्ट बल्ल आउन पाइन्थ्यो। पछिल्लो पल्छ त उनी ६ वर्षमा घर फिरेका हुन्। उनीजस्तै दुई चारजना अरु पनि छन् फार्ममा। परिवारका सदस्य जस्तै लाग्छ।

तीन बिस उमेर काट्दा नि नङ्ग्रा खियाउने जाँगरका पछाडि उनको छुट्टै कथा छ। ‘पुरानो घर म्याग्दी, केही वर्ष अगाडि बुटबलमा बास थियो। गर्मी सारै भएपछि बसाई सरेर हेम्जा आए। सात वर्ष मात्रै भयो। हामी ६ दाजुभाइ थियौँ, सबै भारतीय लाहुरे भए म मात्र बरालिए।’

काँक्रोले भरिएको ठेलागाडा ठेल्दै उनले भने, ‘म्याग्दीमा गाइगोठ थियो। मन बिग्रियो । साउदी नगएको भए वनमा नै कुहिन्थे, यहाँसम्म आउने थिइन। म महिनौ भैँसी हेर्न जंगलमै हुन्थे, फागुनतिर गयो पुसतिर फर्कन्थे।’

छन्त्याल ४० वर्ष हुन लागेका थिए, ज्वाई पर्नेले झस्काए, ‘सधैँ भैँसी गोठालो लागेर हुन्छ ?’

३ छोरी २ छोराको व्यवहार काँधमा परेका छन्त्यालको दिमागमा ज्वाईँको कुरा टनन बज्यो। अनि हानिए साउदीको यात्रामा।

४ सय रियलमा काम पाए। बस्दा बस्दै २० वर्ष बित्यो। दायाँ बायाँका कुरा पनि बुझ्ने भए। उनको तलब ६० हजार सम्म पुग्यो। युवाअवस्थामा भैँसी गोठालोमा रुमलिएको समय उनले केही जोड्न सकेका थिएनन्, अहिले हेम्जा र बटौलीमा घडेरी किनेर छोराहरुलाई घर बनाइदिएका छन्। दुई छोराहरु पनि विदेशमा कमाई गर्न गइरहेका छन्।

‘ठूलो छोरालाई साउदीमा होटलमा काम लगाइदिए, सानो छोरा बुहारी नि बाहिरै छन्। छोरीहरुको घर बसिसक्यो।’ छन्त्याल भन्छन्, ‘केही गर्न नसके पनि छोराछोरी राम्रो बनाए।’ बाबुआमालाई सन्तानको उज्वल भविष्यकै पिर हुन्छ। उनकी श्रीमतीले उनलाई हर कदम साथ दिइन्।

उनलाई काम सानो ठूलो हुन्छ भन्ने लाग्दैन, काक्राको बोटलाई स्याहार्ने मात्र होइन ताल परे बेची पनि दिन्छन्। छिमेकीले अर्डर गरेका काँक्रो झोलामा पोको पार्दै थिए उनी, घर जाँदा छोड्दै जान्छु, आउँदा उठाउँदै आउँछु र साहुलाई दिन्छु।

छोराहरु विदेश पठाउनुमा उनको तर्क पनि छ, ‘यहाँ भयो भने कमाएको पैसाले लाउन खान ठिक्क, बाहिर गयो भने बच्छ।’ उमेर पाक्दै आएपछि उनी नेपाल फर्कने निर्णय गरे, साहूले अझै बस भनेका थिए, बूढो भएँ, बसौँ भनेर आएका छन्त्याललाई फार्ममा काम दिन बोलाइयो ।

बुढ्यौलीले छोप्दै गएपनि जोश उत्तिकै भरिएको उनको आवाज छ, ‘सकुन्जेल छोराको कमाई खान्न, यही बुढो हड्डी खियाउँछु। त्यसपछि जे हुन्छ हेरौँला।’