अस्ट्रेलिया संघीय निर्वाचन २०१९

स्कट मोरिसनको लिवरल गठबन्धन पुनः सत्तामा फर्कँदै

सिड्नी – संघीय चुनावको मतगणाना जारी रहेको बेलामा अस्ट्रेलियाका सत्तारुढ दल लिवरल पार्टीका नेता तथा प्रधानमन्त्री स्कट मरिसन पुनः सत्तामा फर्किने निश्चित भएको छ ।
मोरिसन अस्ट्रेलियाको ३१ औँ प्रधानमन्त्रीमा नियुक्ति हुनेछन् भने उनको सरकारलाई तेस्रो कार्यकालको लागि स्वतन्त्र सांसदहरुको सहयोग चाहिने देखिएको छ ।
अस्ट्रेलियाली संघीय संसदको तल्लो र उपल्लो सदनका लागि भएको निर्वाचनमा सरकार स्थापनाको लागि तल्लो सदन वा प्रतिनिधिसभामा १५१ मध्ये कम्तिमा ७६ सिट आवश्यक पर्छ । अहिलेसम्म लिवरल गठबन्धनले ७४ र लेवर पार्टीले ६८ सिट प्राप्त गरेका छन् ।
विपक्षी दल लेवर पार्टीका नेता बिल शोर्टनले स्कट मोरिशनलाई फोन गरेर बधाई दिएको बताए । आफ्नो हार स्वीकार्दै उनले लेवर पार्टीको नेता पदबाट समेत हट्ने घोषणा गरे । उनले सांसदको पद भने नत्याग्ने बताए ।
समर्थकहरूका सामु जितको घोषणा गर्दै प्रधानमन्त्री स्कट मोरिसनले आफूले चमत्कारमा विश्वास गर्ने बताएका थिए । उनले भने  “आज हामीले फेरि अर्को जित हासिल गरेका छौं । अस्ट्रेलियनहरू कति राम्रा छन् ! अस्ट्रेलिया कति राम्रो छ !”
लिवरल पार्टीबाट बार्टन क्षेत्रमा उठेका नेपाली मूलका उम्मेदवार परमेज श्रेष्ठ लेवर पार्टीकी नेतृ लिण्डा बर्नीबाट पराजित भएका छन् । पूर्व प्रधानमन्त्री टोनी एबट पनि स्वतन्त्र उम्मेदवार जाली स्टेगालसँग पराजित भएका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार एन्ड्रू विल्की र हेलेन हेन्स पनि विजयी भएका छन् । मोरिसन सरकारमा अध्यागमन मन्त्री रहेका डेभिड कोल्म्यान, गृह मामिला मन्त्री पिटर डटन पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
यसपटकको निर्वाचनमा अन्टार्कटिकामा समेत रहेका आफ्ना नागरिकहरूलाई मतदान गर्न निर्वाचन आयोगले मतदान केन्द्र स्थापना गरेको थियो । त्यसैगरी विदेशमा रहेका नागरिकहरुलाई मतदानमा सामेल गराउनका लागि विश्वभरि रहेका अस्ट्रेलियाली दूतावास तथा कुटनीतिक नियोगहरूमा ७६ वटा मतदान केन्द्र स्थापना गरिएको थियो ।
अनिवार्य रुपमा मतदान गर्नुपर्ने नियम राखिएको अस्ट्रेलियाको निर्वाचनमा करिब ९५ प्रतिशत मतदाताहरुले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी, ७० प्रतिशत मतगणना भइसकेको तथा निर्वाचनको पूर्ण नतिजा आउन अझै केही दिन कुर्नुपर्ने सञ्चारमाध्यमहरुले जनाएका छन् । यो निर्वाचनमा करिब ४७ लाख भोट खसेको निर्वाचन आयोगले बताएको छ ।
जेठ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्