लमही-कोइलावास हुलाकी सडक, मुआब्जा माग्दै बाटो अवरुद्ध

दाङ-लमही-कोइलावास हुलाकी सडकमा पर्ने जग्गाको मुआब्जा वितरणमा पक्षपात भएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन्।

लमही नगरपालिका र गढवा गाउँपालिकाको सिमा क्षेत्रमा नागरिकहरुले बाटो अवरुद्द गरेका छन्। बिहानै देखि राप्ती पुलमा स्थानीयहरु पुगेर बाटो छेकेका छन्। जसका कारण आवागमन अवरुद्ध भएको छ।

राप्ती नदीको पुलको पुलको दक्षिणतर्फ रहेको पूर्णगिरी बालुवा प्रशोधन केन्द्रदेखि दक्षिणतर्फ सिक्रहवा पुलपुग्नु अघिको कल्भर्टसम्मका जग्गाहरुको मुआब्जा वितरणमा बिभेद भएको भन्दै विहानैदेखी बोधीपुरमा ड्रम तथा काठका मुढाहरु राखेर सडक अबरुद्ध पारेको स्थानीय अनुप कुमार थापाले बताए।

सो क्षेत्रभित्रको मुआब्जा रु पाँचसय प्रतिवर्गमिटर कायम गरेको भन्दै आफुहरु आन्दोलनमा उत्रिएको उनको भनाई छ ।

सोही सडक खण्ड अन्तर्गत चैलाहीमा प्रतिवर्गमिटर तीनहजार ६ सय तथा गढवा क्षेत्रमा प्रति वर्गमिटर एकहजार तीनसय रहेको भन्दै यही दरमा आफूहरुले मुआब्जा पाउनुपर्ने उनीहरुको माग छ ।

आफ्ना मागमा सुनुवाई नभए सोमबारदेखि राप्तीपुलमै धर्ना दिएर यातायात ठप्प पार्ने योजना रहेको स्थानीयहरुको भनाइ छ।

लमही-कोइलावास सडक कालोपत्रको काम अघि बढेको अवस्थामा मुआब्जाको बिषय विवादित बन्‍न पुगेपछि विवादित क्षेत्रमा सडक निर्माणको काम हुन सकेको छैन।

३३ किलोमिटर लामो सडक क्षेत्रमा पर्ने जग्गाको लगत समेत छुटेको स्थानीयले बताएका छन्।

जेठ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्