त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गतको उद्धार तथा अग्नि नियन्त्रण महाखाशा । यहाँ विपद पर्दा उद्धारका लाग तयारी अवस्थामा रहेका कर्मचारी तथा साधनहरु छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
विपदका साथी, भाग–५

आई नलागोस् यस्तो पूण्यको अवसर

कोटेश्वर हुँदै भक्तपुरको जडिबुटी कटेर बायाँ लागेपछि पुगिन्छ पुरानो सिनामंगल । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व पट्टिको शहर, जसले आफ्नो बायाँतर्फ विमानस्थल बसाएको छ । यो बस्तीले विमानस्थलका यात्रुलाई प्रत्यक्ष शायदै देख्छ, तर हरेक विमानको आगमन र गमनको साक्षी बसिरहेको हुन्छ हरदम ।

यहि पुरानो सिनामंगलको मुल बाटोको बायाँतर्फ विमानस्थलको १० नम्बर गेट छ, जहाँबाट अनुमतिबिना प्रवेश निषेध छ । सेनाको पहरा छ । अनुमतिमा सेनाको सुरक्षा घेरालाई पार गरेर १० नम्बर गेटबाट भित्र पस्नेहरु सीमित छन् । ती सीमित तर नियमित प्रवेशकर्ताहरु मध्ये पर्छन्, सम्भावित विपदका बेला सहयोग गर्ने उद्देश्यसहितको उद्धार तथा अग्नि नियन्त्रण महाशाखका कर्मचारी ।

आफ्नो अघिल्तिर विमानस्थल राखेर उभिएको महाशाखा परिशरमा तीनवटा ठूला वारुणयन्त्र छन्, फोम टेन्डर । पाँचवटा ती भन्दा साना वारुण यन्त्र, पाँचवटा पानी बोक्ने ट्यांकर, एउटा रातो रंगको रेस्क्यू भेकल, एउटा कमाण्ड भेकल र अर्को एउटा एम्बुलेन्स छन् । सबै गाडी तयारी अवस्थामा । कसलाई थाहा हुन्छ र विपद कुन बेला आउँछ ?

वाहनहरु पार्क गरिएको ठाउँको दायाँ–बायाँ दुई भवन छन् । दायाँ तर्फको भवनको माथि टावर देखिन्छ । त्यहि टावरले विमानस्थलको एयर कन्ट्रोल टावरसँग सम्पर्क गरिरहेका छन् । यहाँ रहेकाहरुलाई विमानस्थलमा के भइरहेको छ ? थाहा दिने संयन्त्र त्यही हो ।

महाशाखामा रहेकाहरुले नियाली रहेका छन् गतिविधि र सम्भावित विपदका लागि आफूलाई पूर्णतः तयारी अवस्थामा राखेका छन् (उनीहरुको यो दाबी हो र केही घण्टाको बसाईमा धेरै हदसम्म सत्य रहेको देख्न सकियो ।)

ठूलो आवाज गरेर उड्ने र उस्तै आवाजमा अवतरण हुने जहाजले ती यात्रुसँगै उनीहरुका सपनाहरुलाई बोकेका हुन्छन् । घण्टौँ लाग्ने गन्तव्यसम्मको यात्रालाई विमानले केही मिनेट या घण्टाको बनाइदिएको छ । सजिलो भएको छ । तर छिनभरको सानो गडबडीले भयानक विपदको अवस्था पनि आउन सक्छ । यस्तो अवस्थामा कम भन्दा कम क्षति होस् भन्ने उद्देश्यसहित तम्तयार अवस्थामा बसेका हुन्छन्, अग्नि नियन्त्रण महाशाखाका कर्मचारी ।

आवाजले चिन्छन् जहाज


विमानस्थलमा आउने र जाने विमानको निगरानी नियमित रुपमा गरिरहेका हुन्छन् चिरन्जीवि भण्डारी । विमानस्थलमा हुन सक्ने विपद, विशेषतः जहाजसँग सम्बन्धित जोखिमको अवस्थामा क्षति न्यूनिकरणको प्रयासमा लागेको ३० वर्षभन्दा बढि भयो । उनी अहिले त्रिभूवन विमानस्थल अन्तर्गतको उद्दार तथा अग्नि नियन्त्रण महाशाखा प्रमुख छन् ।

भण्डारीसहित १०५ जनाको दरबन्दी छ । अवकासमा जाने र परिपूर्तिको प्रक्रियाबिचको तालमेल नमिलेका कारण कर्मचारीको संख्या केही कम छ । तर पनि आफूहरु क्षमताको अधिकतम उपयोग गरेर जीवन रक्षाका लागि तत्पर रहेको भण्डारीले दाबी गरे ।

उनले त्यसको उदहारणका रुपमा आफ्नो टिमले गरेको कामको विवरण सुनाए । पछिल्लो पटक गएको वर्षको वैशाखमा युएस बंगलाको जहाज दुर्घटना हुँदा आफूहरुले क्षमताको अधिकतम उपयोग गरि धेरैको ज्यान जोगाउन सकेको बताए, ‘हाम्रो टिमले त्यो बेला पूर्ण क्षमतामा काम गर्‍यो । हुन त विभिन्न कुरा आए, रेस्पोन्स ढिला भयो भनियो, तर हामीले समयमै रेस्पोन्स गरेका थियौँ र अधिकतम क्षमतामा काम गरकैले त्यस्तो मेजर दुर्घटनामा जोखिमपूर्ण अवस्थामा रहेका २० जना भन्दा बढिको ज्यान जोगाउन सफल भयौँ ।’

जहाजकै आवाजसँग अधिकांश समय साक्षात्कार हुने उनीहरुले त्यहि आवाजले नै विमानको पहिचान गर्छन् । भण्डारीले अनुभव सुनाए, ‘हरेक विमानलाई आवाजले चिन्ने भएका छौँ । उडान–अवतरणका बेला आउने आवाजसँग हाम्रो कर्मको आवश्यकता नपरोस् जस्तो लाग्छ ।

हरेक विमान बिना कुनै समस्या गन्तव्यमा पुगुन् र यहाँ आएकाहरु सफल रुपमा अवतरण हुन् जस्तो मात्रै लाग्छ । हुन त हामी तयारी अवस्थामा छौँ तर प्रार्थना र कामना भने विपदमा नआओस् भन्ने हुन्छ ।’

कर्म, उच्च जोखिमको


विपदको अवस्थामा धावनमार्गका दुवै तिर बढिमा तीन मिनेट भित्र पुग्ने गरि उपयुक्त स्थानमा रहेका महाशाखाका कारिन्दाको कर्म सजिलो छैन । उच्च जोखिमको काम गर्छन् उनीहरु विपदका बेला ।

विमानसँग सम्बन्धित प्रायः विपद भयानक नै हुन्छन् । आगोसँग जुध्नु पर्छ । कोलाहाल हृदय विदारक हुन्छन् । अरु अवरोधहरु पनि प्रसस्तै । यस्तो उद्धारमा खटिनु चानेचुने पक्कै होइन । जोखिममा रहेकाहरुलाई जोखिम नै लिएर खटिनु पर्छ । ‘हाम्रो प्रमुख उद्देश्य प्राण जोगाउनु हो, त्यसका लागि पहिले आफू सुरक्षित हुनु पर्छ’ महाशाखा प्रमुख भण्डारी (जसले सेवाको लामो समय अग्नि नियन्त्रकका रुपमा काम गरेका हुन्) ले भने, ‘त्यसका लागि हामीसँग सुरक्षात्मक उपायहरु छन् । त्यसलाई अवलम्बन गरेर मात्रै उद्धारको काम गर्नु पर्छ ।’

विपदपछिको भयावह अवस्था र त्यसले दिनसक्ने दीर्घकालीन पीडाको आँकलनले जतिसक्दो चाँडो आफूलाई सुरक्षित राखेर अरुलाई जोखिमबाट बाहिर ल्याउन उर्जा मिल्ने गरेको अनुभवको अभिव्यक्ति यहाँका कारिन्दाले एक स्वरमा गरे । र उनीहरुले यो पनि सँगै भनेका थिए, ‘कर्म जोखिमको हो, उच्च जोखिमको कर्ममा छौँ हामी ।’

चिरन्जीवि आफैलाई पनि विपदस्थलमा खटिँदा धेरैपकट डरले नछोपेको होइन । तर डर भन्दा अघि विपदलाई जित्न चाहनेहरुको जीवनको याद आउने भएकाले अझ सशक्त भएर काममा खटिन सक्ने गरेको उनको अनुभव छ ।

उद्देश्य उहि, दिशा फरक

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गतको उद्धार तथा अग्नि नियन्त्रण महाखाशाका अग्नि नियन्त्रक सुजन दाहाल । तस्बिर : बर्षा शाह/देश सञ्चार

चिरन्जीवि भण्डारी अहिले विमानस्थल भित्रको उद्धार तथा अग्नि नियन्त्रण विभागका अभिभावक हुन्, अर्थात नेतृत्वकर्ता । उनको परिवारका सदस्य मध्ये एक हुन्, सुजनकुमार दाहाल । अग्नि नियन्त्रक सुजनले विगत ६ वर्षदेखि फोम टेन्डर चलाउँछन् ।

आगोको मुस्लो नियन्त्रणमा लिएर क्षति कम गर्ने प्रयासका प्रमुख पात्र हुन् ‘सुजन’, जो आगो दन्किरहेका तिर होमिन्छन् उद्धारका लागि । आफ्नो कर्ममा आत्मगर्वित रहेका सुजन भन्छन्, ‘उनीहरु (विमानका यात्रीहरु) विमान दुर्घटना भएर आगो लागेको अवस्थामा त्यहाँबाट भाग्न अर्थात आगोबाट निस्कने प्रयासमा हुन्छन् । हामी आगो तर्फ होमिएका हुन्छौँ, सुरक्षात्मक उपायसहित । उनीहरु आगोबाट र हामी आगोतिर भागिरहेका हुन्छौँ, उद्देश्य एउटै हो–प्राण जोगाउने तर दिशा फरक हुन्छ ।’

मानवका लागि अरुका प्राण जोगाउने माध्यम बन्नु जस्तो ठूलो धर्म वा पूण्य कर्म अरु नरहेको सुजनले सुनाए र भने, ‘हामीहरु भाग्यमानी छौँ, कि यस्तो कर्ममा जोडिएका छौँ । तर यस्तो भाग्यको कर्म सकेसम्म गर्न नपरोस् जस्तो हुन्छ ।’

र पनि चिरन्जीवि र सुजनसहितको कर्म परिवारलाई थाहा छ कि विपद या आपदको अवस्था जनु कुनै बेला, जस्तो रुप धारण गरेर पनि आउन सक्छ, यहि सम्भावनाकै कारण उनीहरु चनाखो रहन्छन् । र कामना गर्छन्–विपद नपरोस्, परिहालेमा प्राण जोगाउन सकियोस् सबैको र उनीहरु तथा उनीहरुसँग जोडिएकाहरुको सपनाको रक्षा गर्न सकियोस् ।

(प्राकृतिक विपद तथा विभिन्न घटना–दुर्घटनामा समस्यामा परेकाहरुलाई जोखिमका बिच उद्धार गर्नेहरुको कर्मलाई सम्मान गर्दै देश सञ्चारले विशेष शृङ्खला ‘विपदका साथी’ तयार पारेको हो । शृङ्खला अन्तर्गतकाे यो पाँचौँ स्टोरी हाे । हामी हरेक दिन क्रमैसँग बाँकी स्टाेरी प्रस्तुत गर्दै जाने छौँ ।)

तस्बिर तथा भिडियो : बर्षा शाह/देश सञ्चार

जेठ ५, २०७६ मा प्रकाशित