मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौँ– सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ।

पहिलो चरणको आन्दोलनमा उठाएका मागहरु सम्बोधन गर्नेतर्फ सरकारले गम्भिरता नदेखाएको भन्दै महासंघले थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेकाे हाे।

महासंघले घोषणा गरेका संघर्षका कार्यक्रम अन्तर्गत जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरुसँग भेट गरी छलफल गर्ने कार्यक्रम रहेको छ।

यस्तै जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने, जेठ २१ र २२ गते महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने महासंघले जनाएको छ।

यसैगरी जेठ २३ र २४ गते केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने र जेठ २५ गत अपरान्ह तीन बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हाते साङ्लो बनाई बृहत प्रदर्शन गर्ने महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

जेठ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्