मोदीको बद्री-केदार यात्राका यी छ तस्बिरहरु

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने उत्तराखण्डको यात्रा सकिएको छ। यस अवसरमा भारतीय जनता पार्टी (भाजपा) को इन्स्टाग्राम एकाउण्टमा मोदीका कैयाैँ तस्बिरहरु पोष्ट भएका छन्। भाजपाले यी फोटोका साथ क्याप्सन लेखेको छ,‘पीएम नरेन्द्र मोदीको केदारनाथ यात्रा समाप्त भयो, यी तस्बिर साँच्चै नै मन छुने छन्।’

आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीले केदारनाथपछि बद्रीनाथ मन्दिरमा भगवान बद्री विशालको दर्शन र पूजा–अर्चना गरे। बिहान करिब आठ बजे मोदीले केदारनाथ मन्दिरमा एकपटक फेरि पूजा गरेका थिए।

मोदी बिहान दश बजे वायुसेनाको एमआई हेलिकप्टरबाट बद्रीनाथ धामस्थित सेनाको हेलिप्याडमा उत्रिएका थिए। हेलिप्याडबाट विशेष वाहनबाट प्रधानमन्त्री बद्रीनाथ पुगे जहाँबाट उनी अलकनन्दा नदीमा बनेको पुलमाथि पैदलै हिडेर बद्रीनाथ मन्दिरको मुख्यद्वार ‘सिंहद्वार’ बाट मन्दिर प्रवेश गरे।

पूजा–अर्चना गरिसकेपछि प्रधानमन्त्री मोदी मन्दिर परिसरमा केहीबेर टहलिए। त्यसपछि उनले बद्रीनाथमा रहेका श्रद्धालु र स्थानीय जनतालाई हात हल्लाएर अभिवादन गरे।

यस्तै यही अवसरमा प्रधानमन्त्री मोदीले चुनाव प्रचारबाट आरामको लागि हिमालयको पवित्र तिर्थस्थल भ्रमणको अनुमति दिएको भन्दै निर्वाचन आयोगप्रति आभार प्रकट गरे। उनले भने,‘मलाई दुई दिनको आराम मिल्यो।’

प्रधानमन्त्रीले भने,‘म भगवानसँग केही माग्दैन। मलाई लाग्छ कि भगवानले हामीलाई समाजमा केही दिनको लागि बनाएका हुन्।’

जेष्ठ ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्