योगी आदित्यनाथको मन्त्रिमण्डलबाट राजभर बर्खास्त

उत्तर प्रदेशको राज्य सरकारका मन्त्री प्रकाश राजभर बर्खास्त भएका छन् । मुख्यमन्त्री योगी आदित्यनाथको खुलेर आलोचना गर्दै आएका मन्त्री राजभरलाई राज्यपालले बर्खास्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्यमन्त्री योगीले लोकसभा चुनावको नतिजा आउनु पूर्व नै राजभरलाई बर्खास्त गर्न राज्यपाललाई सिफारिस गरेका थिए । बर्खास्त भएका राजभर योगी सरकारमा पीछडा वर्ग कल्याण–दिव्यांग जनकल्याण मन्त्री थिए ।

पछिल्लो केही समयदेखि राजभरले भारतीय जनता पार्टीसहित मुख्यमन्त्री योगी आदित्यनाथको विपक्षमा खुलेर बोल्दै आएका छन् । लोकसभा चुनावअघि नै उनले राजीनामा दिएका थिए, तर उनको राजीनामा स्वीकृत भएको थिएन ।

राजभरको सुहेलदेव समाज पार्टीले भाजपासँग मिलेर विधानसभा चुनावमा प्रतिस्पर्धा गरेको थियो र उसका चार विधायक पनि छन् । तर सरकार बने लगत्तैदेखि उनले भाजपाको विरोध गर्न थालेका हुन्।

जेठ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्