नेपाली सेनामा सह–सेनामा कार्यरत विश्वनाथ सिलवाल । उनी विपदमा परेका बेला उद्धार तथा राहतको काममा सक्रिय रहन्छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
विपदका साथी, भाग–६

मनबाट डर निकालेपछि जे पनि गर्न सकिन्छ

हेर्न त पहिले घर तिरै हेरेका थिए । धुलोको मुस्लो उडिरहेको थियो । मनमा चिसो पसेको थियो–भत्कियो होला घर । अनि कामना गरेका थिए–परिवारका सदस्यलाई केही नहोस् । उनको सत्कामना पूरा भयो । तर घर क्षतिग्रस्त भयो ।

घटनाको चार वर्ष विति सक्दा पनि स्मृति ताजा छ विश्वनाथ सिलवालसँग । नेपाली सेनामा सह–सेनानी रहेका सिलवाल ३० वर्षका भए । सेनामा जोडिएको ११ वर्ष भयो । उनी चार वर्षअघिको भूकम्पको सुरुवाति अनुभव सुनाउँदै थिए ।

उनी आफ्नो गणका टोलीसहित सूर्यविनायकमा थिए । भूकम्प लगत्तै गणबाट आफ्नो घर रहेको गोदावरी तिर हेर्दाको दृश्यले उनको मनमा भय बसालेको थियो । त्यो भयलाई थाँती राखेर उनी तत्कालै उद्धार तथा राहतको काममा खटिए ।

शायद तीन दिनपछि हुनु पर्छ उनलाई आमाले फोन गरेकी थिइन् । त्यसअघि उनले घरको अवस्था बुझेका थिए र सबै सकुशल रहेको थाहा पाएपछि ढुक्क भएर उद्धारको कमर्मा खटिएका थिए । तीन दिनपछिको फोनमा आमाले उनलाई भनेकी थिइन्, ‘बाबु मन दरो बनाएर काम गर्नु । नअत्तालिनु है । जस्तो भए पनि मन विचलित हुन नदिनु ।’

विश्वनाथको परिवारमा यस्तो दायित्व आइपरेको पहिलो पल्ट थिएन यो । उनका बुढो हजुरबुवा पनि सेनामा थिए । ९० सालको भूकम्पका बेला उद्धारमा खटिएका उनी मानिसका शवहरु देखेर अत्तालिए । शायद त्यही पीडामा ज्यान गुमेको थियो उनको । विश्वनाथकी आमा कुमारीलाई छोराले मन दरो बनाओस् भन्ने थियो ।

मनमा चिसो परेको त्यो क्षण


विश्वनाथ भूकम्प लगत्तैको उद्धारमा खटिएका थिए । उनीहरुको टोलीले कतिलाई जीवितै भग्नावशेषबाट निकाल्यो । कतिका अत्यावश्यक सामग्रीहरु धरापहरुबाट निकाले । अनि कतिको चाहिँ शव निकाले । उनलाई अझै पनि एक किशोरको शवले नजानिदो गरि झस्काउँछ ।

वैशाख १२, २०७२ को भूकम्प गएको शायद तीन दिनपछि हुनुपर्छ । उनले एसएलसी दिएर काठमाडौँ आई गोंगबु क्षेत्रको होटलमा बसेका एक १५ वर्षे किशोरको शव निकालेका थिए ।

भग्नावशेषमा च्यापिएको ती किशोरको शव उनले छुँदा चिसो भइसकेको थियो । शवको चिसोले विश्वनाथको मनमा पनि चिसो पस्यो । केही दिन झस्किए । अझै पनि त्यो घटनाको स्मृतिले मन हल्लाउँछ ।

र पनि विश्वनाथले आफ्नो कर्मको धर्मलाई छोडेका छैनन् । आमाले भने जस्तै मन दरो बनाएका छन् । उनकै भनाईमा अहिले उनको मन धेरै हदसम्म बलियो भएको छ, र पनि हल्लाउन त हल्लाउँछ अझै पनि बेला बेला ।

विक्षिप्त शव बटुलेका एकाप्रसाद


ओखलढुंगाका एकाप्रसाद भट्टराई पनि नेपाली सेनामै छन् । २२ वर्षदेखि कार्यरत उनी ४३ वर्षका भए । चार वर्षअघिको भूकम्प जाँदा उनी जनकपुरमा थिए । त्यसको तीन दिनपछि उद्धार तथा राहतको काममा दोलखा खटिएका उनी अहिलेसम्म उतै छन् ।

उनी जाँदा भत्किएका बस्ती अहिले बिस्तारै उठ्दै छन् । टहराको बास भएका स्थानीय बासिन्दाहरु नयाँ बनेका घरमा फर्किँदै छन् । तर एकाप्रसादको मनमा भने अझै पनि भूकम्पका धक्काहरुले हल्लाउँदै गर्दा धराप बनेका घरहरुबाट स्थानीयका अत्यावश्यक सामग्री निकालेको र त्यसले उनीहरुको अनुहारमा छाएको पीडायुक्त मुस्कानको स्मरण रहन्छ ।

भत्केका बस्तीहरुले अहिले आकार लिएका छन् । नयाँ घरहरुमा पुरानो बस्तीको जनजीविका क्रमैसँग नियमित भएको छ र एकाप्रसादलाई आफूहरु पीडाका बेला उनीहरुको साथी बन्न पाएका थियौँ भन्ने सम्झनाले सत्कर्म गरेछौँ जस्तो लाग्छ ।

तर उनलाई जहिले हल्लाइरहने घटना छ । वैशाख २९, २०७२ को भूकम्प जाँदा उनी दोलखामै थिए । एउटा गाडी आफूहरुको आँखै अघिबाट गएको देखेका उनलाई भूकम्प गएपछि त्यसमा रहेकाहरुको के भयो होला भन्ने सोचले सताई नै रह्यो धेरैबेर सम्म ।

केही बेरपछि बाँच्न सफल भएकाहरु आए । उनीहरुले दिएको जानकारी अनुसार भूकम्पका कारण गएको पहिरोमा पुरिएको गाडीमा च्यापिएका एकजनाको उद्धारका लागि एकाप्रसादसहितको टोली खटियो ।

पहिरो झरिरहेको थियो, एकाप्रसादले तैपनि सास छ कि भनेर अघि बढे । तर साथीहरुसँग राहत तथा सर्वेक्षणको कामका लागि गएका त्रिभूवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका लेक्चर माधव भुसालको शव मात्रै फेला पारे उनले । त्यो पनि क्षतविक्षद अवस्थामा ।

जोखिम युक्त अवस्थामा रहेको शव निकालेका एकाप्रसादलाई अहिले पनि लागिरहन्छ उनलाई जिउँदो उद्धार गर्न सकेको भए कति राम्रो हुने थियो ।

तर हुने कुरा भइसक्यो र एकाप्रसादले त्यसपछिको काममा आफूलाई क्रियाशिल बनाए । अहिले पनि उनी सक्रिय छन्, आपत परेका बेला सहयोग गर्ने कमर्मा ।

असुविधालाई जित्ने कर्म


विश्वनाथ र एकाप्रसाद असुविधा र भयलाई जितेमा मात्र यस्ता धेरै कर्म गर्न सक्ने ठान्छन् । भूकम्पसँग जोडिएका अनुभव सुनाउने क्रममा उनीहरुले बस नदीमा खसेका बेला निकालेका शव, पहिरोमा पुरिएकाहरुको उद्धार, आगोमा जुधेकाहरुलाई दिलाएको ओसिलोपन दिँदाको स्मरण रोचक ढंगबाट प्रस्तुत गरेका थिए ।

दुवैले अरुको दुःखमा साथ दिने साथी या आपत परेका बेला भरोसा बन्न पाएकोमा खुशी रहेको बताए । उनीहरु मनको डरलाई जितेर कर्म पथमा निरन्तर रहने उत्साह आफू आवद्ध संस्थाले दिएको सीप र त्यसबाट आएको आत्मबलबाट मिल्ने गरेको बताउँछन् ।

र दुवैले उस्तै कुरा गर्छन्, ‘धर्मको कर्म हो हामीले गर्न पाएको मानवधर्मको, यसमा सदैव लाग्न पाइयोस् ।’

(प्राकृतिक विपद तथा विभिन्न घटना–दुर्घटनामा समस्यामा परेकाहरुलाई जोखिमका बिच उद्धार गर्नेहरुको कर्मलाई सम्मान गर्दै देश सञ्चारले विशेष शृङ्खला ‘विपदका साथी’ तयार पारेको हो । शृङ्खला अन्तर्गतकाे यो यसपटकका लागि यो छैटौँ तथा अन्तिम स्टोरी हो । हामी यस्तै सत्कर्मका कथाहरु आउँदा दिनमा पनि प्रस्तुत गर्ने छौँ । )

तस्बिर तथा भिडियो : बर्षा शाह/देश सञ्चार

जेष्ठ ६, २०७६ मा प्रकाशित