मध्यपहाडी लोकमार्गलाई प्रविधिको पहुँचमा जोड्दै 'अप्टिकल फाइबर'

‘२ वर्षभित्र अप्टिकल फाइबर विस्तार, दिनेछ उच्च गतिको इन्टरनेट, आइपी प्रविधिमा टेलिभिजन’

सोमबार धादिङको गल्छीमा साबेलले माटो फालेर शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। नेपाल टेलिकमले सोमबार नै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि अप्टिकल फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात गरेको छ। तस्बिर सौजन्‍य: प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं- नेपाल टेलिकमले नेपाललाई सञ्‍चार तथा सूचना प्रविधिको महामार्गमा जोड्न सोमबारदेखि मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको सुरुवात गरेको छ।

टेलिकमको उक्त फाइबर अप्टिकल योजनाको प्रधान्मन्त्री केपी शर्मा ओलीले सोमबार धादिङको गल्छीमा साबेलले माटो फालेर शिलान्यास गरेका छन्। उनलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटले साथ दिएका थिए।

त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार नै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात गरिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छिन्।

योसँगै अबको करीब दुइ वर्षभित्र प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण विस्तार भइसक्‍ने छ भने मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई सूचनाप्रविधिको पहुँचमा जोडिनेछन्।

सूचनाको महामार्गमा अप्टिकल फाइबर बिछ्याउन तीन कम्पनीसँग सन् २०१९ मार्च महिनामा सम्झौता भएको प्रवक्ता वैद्यले बताइन्। उनले भनिन्, ‘उक्त सम्झौता हङकङको चाइना कम्‍युनिकेशन इन्टरनेशनल (सीसीएसआइ), कोरियाको एलएस केबुल्स तथा आरोग्‍य कन्स्ट्रक्शन नेपाल र चाइना रेल्वे र चाइना फ्युलले संयुक्त रुपमा गरेको छ। टेण्डर प्रक्रियाबाट सन् २०१९, मार्चमा सम्झौता गरेका छौ। सम्झौता भएको दुई वर्षभित्र उक्त काम सम्पन्‍न हुनेछ।’

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्य। तस्बिर: सुलभ श्रेष्ठ/देश सञ्‍चार

मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश- १को ५ सय ४६ किलोमिटरका लागि कोरियाको एलएस केबुल कम्पनीले जिम्‍मा लिएको छ भने प्रदेश-२को १ हजार २८ किलोमिटरको काम आरोग्‍य कन्स्ट्रशन नेपाल र चाइना रेल्वे र चाइना फ्युलले संयुक्त रुपमा जिम्‍मा लिएको छ।

यसैगरी प्रदेश-३ को ५ सय ५५ किलोमिटर फाइबर बिछ्‍याउने काम हङकङको सीसीएसआइ अर्थात चाइना कम्‍युनिकेशन इन्टरनेशनलले गर्ने भएको छ।

यसका साथै फाइबर जोड्दा पाँच वटा भौतिक पूर्वाधारहरु चाहिन्छ जसका लागि डीडब्लूडीएम उपकरणका लागि हङकङको सीसीएसआइसँग सम्झौता भएको छ भने राउटरका लागि सिंगापुरको सीटीएस कम्युनिकेशनसँग सम्झौता गरिएको छ।

मध्‍यपहाडी लोकमार्ग अन्तर्गत पुर्वको पाँचथर जिल्लाको चियो भञ्‍ज्याङदेखि पश्‍चिमा पर्ने गोर्खा र धादिङको सीमाना आरुघाटसम्‍म अप्टिकल फाइलब बिछ्याउन नेपाल टेकलिम र नेपाल दूरसञ्‍चार प्राधिकरणबीच २०७३ असोज १२ गते सम्झौतामा हस्ताक्षर भएको थियो।

सो सम्झौता अनुसार मध्‍यय पहाडी लोकमार्गका उल्लेखित ठाउँहरुमा अप्टिकल फाइबर विस्तार गर्नका लागि नेपाल दूरसञ्‍चार प्राधिकरणले ग्रामिण दूर सञ्‍चार विकास कोषमार्फत नेपाल टेलिकमलाई उपलब्ध गराउनेछ।

त्यसैगरी लोकमार्क अन्तर्गतको चियो भञ्‍ज्याङदेखि आरुघाटसम्‍म कुल ८ सय ४ किलोमिटर तथा उक्त मार्गको उत्तर-दक्षिण क्षेत्रमा १ हजार ५ सय ७२ किलोमिटरको सुपरलिंक गरी करीब २ हजार ३ सय ७६ किलोमिटर अप्टिकल नेटवर्कमा जोडिने योजना अघि बढाइएको छ। यसका साथै १०० जी क्षमताको पूर्वाधार विस्तारको योजना समेत टेलिकमले लिएको छ।

यता, नेपाल दूरसञ्‍चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले टेलिकमले लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने र जिल्ला सदरमुकाम जोड्न ४८ कोर क्षमताको अप्टिकल फाइबर जोड्ने बताउँछन्।

उनी भन्छन्, ‘टेलिकमले लोकमार्गमा ९६ कोर, जिल्ला सदरमुकाम जोड्न ४८ कोर र नगरपालिका जोड्‍न २४ कोर क्षमताको अप्टिकल फाइबर बिछ्‍याउनका लागि अनुमति दिएका छौ। सोही सडक खण्डको उत्तर दक्षिण क्षेत्रमा पर्ने प्रदेश-१,२ र 3 अन्तर्गतका ३२ जिल्लाका सदरमुकामहरु, नगरपालिका तथा गाउँपालिकाहरु अप्टिकल नेटवर्कमा विस्ता हुनेछन्।’

मुलुकभरका जिल्ला सदरमुकाम र यसमार्पत सम्पूर्ण गाउँपालिका, विद्यालय र स्वास्थ्य चौकी आदिमा ब्रोडब्याण्ड नेटवर्क पुर्‍याउने सरकारी नीति अनुरुप अप्टिकल फाइबर बिछ्याउने कार्यलाई तीब्रता दिएको नेपाल दूर सञ्‍चार प्राधिकरणका कार्यबाहक अध्‍यक्ष पुरुषोत्तम खनाल बताउँछन्। उनी भन्छन्, ‘ ब्रोडब्याण्ड नेटवर्क र एचटीटीएफ सेवाको उपलब्धतासँगै विद्यमान कपर (तामा) तारबाट सञ्‍चालन हुने स्थानीय टेलिफोन सेवालाई अप्टिकल फाइबरले विस्थापित गरिदिनेछ भने सेवा छिटो, छरितो र भरपर्दो हुनेछ।’

अप्टिकल फाइबरको फाइदा के ?


यसका साथै एचटीटीएफमार्पत एउटै अप्टिकल फाइबर मार्फत प्रयोगकर्ताहरुले टेलिफोन,उच्चगतिको इन्टरनेट तथा आइपी प्रविधिमा आधारित टेलिभिजन तथा भिडियो सेवाहरु प्रदान गर्न सकिने इन्टरनेट सेवा प्रदाय संघ (आइएसपान)का अध्यक्ष भोजराज भट्ट बताउँछन्।

उनी भन्छन्, ‘ गाउँगाउमा अप्टिकल फाइबरले जोड्न सकेमा प्रयोगकर्ताहरुले घरमै बसेर उच्च गतिको इन्टरनेट  चलाउन पाउनेछन् भने आइपी प्रविधिमा आधारित टेलिभिजन तथा भिडियो सेवा समेत लिन सक्‍नेछन्। साथै एडिएसएल सेवालाई एचटीटीएफमा रुपामन्तरण गर्न सकिनेछ। सरल, सलभ र सुपथ मुल्‍यमा प्रयोगकर्ताले नविनतम प्रविधिको अनुभव गर्न पाउनेछन्। ‘

जेष्ठ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्