धनकुटाका एक युवक अचानक बेपत्ता भएपछि काठमाडौं प्रहरी यसरी रन्थनियो

सांकेतिक तस्बिर।

काठमाडौं-  राजधानीको एक प्रतिष्ठित गाडी कम्पनीमा काम गर्ने धनकुटाका एक युवक श्रीमतीसँग कोटेश्वरमा बस्दै आएका थिए।। श्रीमान-श्रीमतीबीच राम्रै सम्बन्ध थियो। श्रीमतीलाई निकै माया गर्थे।

परिवारमा कुनै अभाव थियो त सन्तानको । पाँच वर्षअघि विवाह गरेपनि यो जोडी आमा-बुवा बन्न सकेको थिएन। सन्तान नभएको प्रति ती युवक निकै चिन्तित थिए। केही महिना अघि श्रीमती गर्भवती भएको थाहा पाएपछि उनले लड्डु खुवाए। उनमा खुसीको सिमा रहेन। परिवार पनि औधी खुसी भयो।

तर गर्भवती भएको तीन महिनापछि ‘मिस क्यारेज’ भयो।  ती युवक,श्रीमती अनि परिवारकै खुसी क्षणभरमै चकनाचुर भयो। मोटरसाइकल लिएर गत बैशाख ३१ गते बेपत्ता भए। श्रीमती, परिवार बेचैन हुनु स्वभाविक थियो । धनकुटाबाट छोरा खोज्न बाबु काठमाडौं आए। एक दुई दिन गर्दै छोरा घर नफर्किएपछि प्रहरी कार्यालय पुगे।

प्रहरीले अनुसन्धान सुरु गर्‍यो। कोठाबाट निस्किएको दिन युवकले कालिमाटिमा कुमारी बैंकको एटिएमबाट १२ हजार रुपैयाँ निकालेको पता लाग्यो। तर युवकले बोकेको मोबाइल स्विच अफ भएपछि अभिभावकलाई मात्र होइन प्रहरीलाई पनि तनाव सुरु भयो। अभिभावकको लगातारको दबाबका कारण ती युवकलाई नखोजी र नभेट्टाई प्रहरीलाई सुखै थिएन।

आईतबार नेपालगन्जको एक रिसोर्टमा युवकले बोकेको एटिएमबाट पैसा तिरेको देखियो। सीसिटिभि फुटेज हेर्दा भारतीय मुलका नागरिकले पैसा झिकिरहेको देखियो। यो देखिएपछि परिवार र प्रहरी दुवै सशंकित भए। परिवारले सामाजिक सन्जालमा ती युवकको तस्विर राख्दै कसैले देखे सम्पर्क गर्न अनुरोध गरे।

सोमबार १२ बजेतिर ती युवक काठमाडौंको चोभारमा रहेको तस्विर उनका आफन्तलाई बलम्बुका एक युवकले पठाए। यसले आशंका थप फराकिलो बन्यो। प्रहरीको टोली ती युवकलाई खोज्न चोभारतर्फ लाग्यो। तर युवक भेटिएनन्। त्यसपछि सिसिटिभी फुटेज हेर्दा दिउँसो साढे १२ बजेतिर दक्षिणकालीबाट मोटरसाइकलमा पार भएको देखियो। सोमबार साँझ तीनै युवक रक्सौलमा भेटिएका छन्। परिवारका सदस्यले विरगन्ज सिमा क्षेत्रमा खोजि  गरिरहँदा उनि भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीसँग उनले आफु धनगढी पुगेर आएको बताएका छन्। ‘डिप्रेसनले विरक्तिएको हुन सक्छ। उनलाई परिवारको जिम्मा लगाउने काम भईरहेको छ’, स्रोतले भन्यो।

जेठ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्