कुकुरको फन्दामा लागु औषध कारोबारी, तीन पुरुष र दुई महिला पक्राउ

नेपालगञ्ज-गौरीलाई लागु औषध खोज्ने जिम्मा दिइयो। लभलाई विष्फोटक पदार्थ। दुवै आ–आफ्नो ‘डिउटी’मा खटिए । गौरी र लभले भारतबाट नेपाल प्रवेश गर्ने हरेक मानिसको जाँच गरे ।

लभले त केही फेला पारेन। गौरी भने अति नै व्यस्त भई। अर्थात, उसले पाँच जनाको साथबाट लागु औषध फेला पारी।

लभ र गौरी प्रहरीले पालेका कुकुरका नाम हुन्। यी दुई कुकुरलाई लिएर लागु औषध अनुसन्धान ब्यूरोको टोलीले सोमबार साँझ ५ देख ७ बजेसम्म नाकामा जाँच गरेको थियो। कुकुरले तीन जना केटा र दुई जना केटीलाई लागु औषधसहित फेला पार्‍यो।

ब्यूरो नेपालगञ्जका प्रमुख बीरबहादुर थापका अनुसार, नेपालगञ्जका किशोर धोवीबाट १४ वटा ट्याब्लेट र सय एमएल कोरेक्स, प्यूठानका आदिल मियाको साथबाट ९ ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगर, दाङकी लक्ष्मी खड्का र नेपालगञ्जकी सुमन श्रेष्ठको साथबाट एक ग्राम ब्राउनसुगर, कोहलपुरका राजेन्द्र हरिजनबाट ३९ ट्याब्लेट नाइट्रोभेट बरामद भएको छ। प्यूठानका मिया लागु औषध लिन नेपालगञ्ज आएका थिए । दुई महिनाअघि मात्रै विदेशबाट आएका मियाले साथीको लहलहैमा लागु औषध खान शुरु गरेको बताए।

नेपालगञ्ज नाका लागु औषध बोक्ने नाका बनेको छ। ब्यूरोको टोली रातदिन खटिदा पनि कारोबारीले कुनै न कुनै माध्यमबाट लागु औषध नेपालगञ्ज भित्र्याइरहेका छन्। नाकाबाट फुत्किएका कारोबारी तथा प्रयोगकर्ताहरु कोहलपुर, बैजनाथ गाउँपालिकामा पक्राउ परिरहेका छन् । ‘लागु औषध भित्रिन नदिन हामी रातदिन लागेका छौ।

जति नै कडाई गरेपनि लागु औषध भित्रिन छोडेको छैन, ब्यूरोका प्रमुख थापाले भने, लागु औषधले त नेपालगञ्ज शहरमात्रै होइन, ग्रामीण बस्तीसमेत तहसनहस हुन थालिसक्यो।’

कुकुरले शरीर तथा झोला सुँघेर लागु औषध पत्ता लगाएको छ । भारतमा गएर लागु औषध खाएर आउनेको जाँच गरिएको छैन । नेपालगञ्ज नाकाबाट भारतीय शहर रुपैडिहामा गएर लागु औषध सेवन गरेर फर्किनेको संख्या अझ ठूलो रहेको छ।

सधैं भीडभाड रहने नाका भएको र सामानका बीच या जहाँ पनि लुकाएर ल्याउन सक्ने भएकाले सोझो बाटोबाट लागु औषध भित्रिरहेको छ । जिल्लाका छोटी नाकाबाट भित्रिनेलाई त कुनै चिन्ता नै छैन । कारोबारीहरु माल बोकेर सहजै गन्तब्यमा पुग्ने गर्दछन् ।

नेपालगञ्ज नाकाबाट भित्रिएको लागु औषध दाङ, प्यूठान, सुर्खेत, दैलेख, जुम्लामात्रै होइन, राजधानीसम्म पुग्ने गरेको अधिकारीहरु बताउँछन् । प्रहरीले बेलाबेलामा नाकामा कुकुरसहित जाँच गर्ने गरेको छ । ब्यूरोका इन्चार्ज थापाले लागु औषध प्रयोगकर्ता बढेकाले नियमित जाँच गर्ने अभियान नै थालेको बताए।

जेष्ठ ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू