इलामका उत्पादन किन्न इलाममै पुग्नु पर्दैन

इलामका उत्पादन झापामा चिनाउने तारामणि र पार्वती खतिवडा।

विर्तामोड – करिब चार वर्ष अघिसम्म इलामका उत्पादन जस्ले विश्वमै पहिचान बनाउन सफल भए ती उत्पादन लिन वा खरिद गर्नका लागि इलामसम्मै पुग्नु पर्थ्यो। इलाम पुगेर पर्यटकहरुले त्यस्ता बस्तु किनेर लैजाने गर्थे। तर अहिले परिस्थिति परिवर्तन भएको छ।

इलामका उत्पादनहरु तयारी चिया पत्ती, छुर्पी, ललिपप, किवी फल लगायतका बस्तु प्रख्यात छन्। खासगरि इलाममा खाद्य बस्तु उत्पादन हुने गरेको छ। इलामको चियाले त विश्व बजारमा नै ख्याती कमाएको छ।

इलामको अर्थोडक्स चिया जर्मन, जापान, पछिल्लो समयमा अमेरिका लगायत मुलुकहरुमा निर्यात हुने गरेको छ। नेपाल सरकारको भन्दा आफ्नै प्रयत्नले इलामका चिया उद्योगीहरुले इलामको चिया विश्व बजारमा पुर्याएका हुन्।

तर इलाममा उत्पादन हुने गरेका अन्य घरेलु उत्पादनले पनि ख्याति कमाउन थालेका छन्। इलामको छुर्पी अहिले ठूलो मात्रामा अमेरिका निर्यात हुने गरेको छ।

विर्तामोडमा रहेको आफ्नै पसलमा इलामका उत्पादन बिक्री गर्ने सुजना खतिवडा।

इलामका उत्पादन अहिले इलामका पसलहरुमा मात्र सीमित छैनन्। बजार बिस्तारका क्रममा बिस्तारै अन्यत्र जिल्लामा पनि इलामका घरेलु उत्पादनहरु पाइन थालेको छ।

करिब चार वर्ष अघि झापा चारपानेमा बसोबास गर्ने माधव खतिवडाले झापाको विर्तामोडको हनुमान सेन्ट्रल अघि इलामका उत्पादन बेच्न भनेर सानो पसल स्थापना गरे।

उनी पहिला सडकमा इलाममा ठूलो मात्रामा उत्पादन हुने गरेको किवी फल बेच्ने गर्थे। इलाममा उत्पादन हुने ग्रीन टी, छुर्पी लगायत बस्तु राखेर पसल स्थापना गरे। माधवले भने, ‘इलामका उत्पादनको बजार छ भनेर स्थापना गरेको पसलमा अहिले भरमार बिक्री हुन थालेको छ।’

इलाममा उत्पादन भएको छुर्पी।

माधवकी श्रीमती सुजनाले अहिले दिनमा करिब १५ हजार रुपैयाँ बराबरका सामान बिक्री हुने गरेको बताइन्। उनले भनिन्, ‘झापामा ग्रीन टी पिउनुपर्छ भनेर बानी लगाउने पनि हामी नै हो।’

खासगरि विदेशमा रहेका आफन्तका लागि इलामका उत्पादन स्थानीयबासीले खरिद गरेर पठाउने गरेका छन्। कोसेलीका रुपमा उनीहरुले त्यस्ता उत्पादन खरिद गर्ने गरेको सुजनाले बताइन्।

इलाममा उत्पादित चिया।

इलामका उत्पादन खरिद गर्नका लागि अब इलाम पुग्नु नपर्ने अर्का व्यवसायी तारामणि खतिवडाले बताए। उनले इलामका उत्पादनले विश्व बजारमा ख्याति कमाउन थालेको बताए।

तारामणिले भने, ‘जुन हिसाबले अहिले बिक्री बढेको छ इलामका उत्पादन विश्वका कुना कुनामा पुग्न थालेका छन्।’

झापामा मात्र नभएर देश प्रमुख शहर काठमाडौँमा पनि इलामका उत्पादनका पसलहरु खुल्न थालेका छन्। काठमाडौँका चावाहिल, लाजिम्पाटमा पनि इलामका उत्पादनका पसल स्थापना भइसकेका छन्।

इलामकै उत्पादित अचार तथा जाम।
जेष्ठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्