आरुबोटे गाउँ शोकमा

पाँचथर हत्याकाण्ड अपडेटः भयावह घटनास्थलकाे फोटो खिच्न बन्देज!

काठमाडौँ – दुई परिवारका ९ जनाको हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे गाउँ शोकमा डुबेको छ ।

सोमबार राति आरुबोटेका दुई घरमा पाँचजनाको विभत्स हत्या भएको हो । मिक्लाजुङ गाउँपाकिलाका अध्यक्ष अमरराज माखिमले आफूहरुले बिहान ६ बजेतिर घटनाबारे जानकारी पाएको बताए ।

उनले देश सञ्चारसँग भने, ‘थाहा पाउने बित्तिकै इलाका प्रहरी कार्यालयको टोलीसहित हामी घटनास्थल आएका हौँ । अवस्था विभत्स छ ।’
घटनास्थलमै रहेका गाउँपालिका अध्यक्ष माखिमले देश सञ्चारसँग भने, ‘ज्वाईँको घरमा पाँचजनाको र सुसुराको घरमा चारजनाको हत्या भएको हो । पाँचजनाको शव एकै ठाउँमा थुप्रो लगाएको अवस्थामा छ ।’

उनले घटनास्थलको अवस्थाबारे बताए, ‘शवहरु विभत्स छन् । कोहीको टाउको छैन । अनुहार चिन्न सकिने अवस्था छैन । कोहीको शरीरका विभिन्न भाग छुट्टिएका छन् । डर लाग्दो छ अवस्था ।’

चारजनाको हत्या भएको घरमा एकजनाको शव घर बाहिर र अरु तीनजनाको शव घर भित्र रहेको उनले जानकारी दिए । घटना निकै भयावह र डरलाग्दो भएकाले आफूहरुले घटनास्थलको तस्बिर खिच्न रोक लगाएको उनले जानकारी दिए ।

घटनास्थलमै रहेका स्थानीय विद्यालयका शिक्षक हरेन्द्र सियाकका अनुसार हत्या भएका दुई घरबिचको दूरी पैदल हिँड्दा १५ मिनेट लाग्छ । उनले भने, ‘घटना राति १२–१ बजेतिरको हुनु पर्छ । गाउँको ओल्लो छेउ र पल्लो छेउमा रहेका ज्वाईँ–ससुराको घरमा घटना भएको हो । अवस्था भयानक छ ।’

भागेर ज्यान जोगाउन सफल भएकी १२ वर्षकी सीता खजुमलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।
सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या भएको हो ।

धनराजको परिवारका पाँचजना र बमबहादुरको परिवारका चारजनाको हत्या भएको हो । हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक, ३६ वर्षीया जस्मिता फियाक, २६ वर्षीया मनकुमारी फियाक, ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

जेठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्