पाँचथर हत्याकाण्ड अपडेट

हृदयविदारक घटनास्थल, रहस्यमय हत्याकाण्ड

काठमाडौँ – दुई परिवारका ९ जनाको हत्या भएको पाँचथरको मिक्लाजुङका बासिन्दा शोक र त्रासमा छन् । प्रहरीसहितको टोली घटनास्थल पुगेको छ भने जिल्ला सदरमुकामबाट प्रहरीको टोली पनि जाँदै छन् ।

प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीसहितको टोली घटनास्थलतर्फ जाँदैछ । प्रमुख जिल्ला अधिकारीको टोलीमा सुरक्षा निकायका अधिकारी र डाक्टरहरु छन् । घटना भएका घरलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।

विज्ञापन

घटनाबारे अहिले नै केही भन्न सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी वस्तीले बताएका छन् । हत्या भएका धनराज शेर्माको घरमा केही दिनअघि नुनमा सिसा मिसाएको घटना सार्वजनिक भएको थियो । प्रमुख जिल्ला अधिकारी वस्तीका अनुसार चार दिनअघि गाउँमा तालिम दिनका लागि गएको टोली शेर्माको घरमा बसेको थियो र उनीहरुलाई बनाइएको खानामा प्रयोग गरिएको सुनमा सिसा मिसिएको थियो ।

हत्याकाण्ड मच्चिएको घर, तस्बिर: देश सञ्चार ।

जसका कारण खाना खाएकाहरु बिरामी परेका थिए । तर सो दिन शेर्माका सन्तानले पनि सोही खाना खाएकाले हत्या र सो घटनाबिच सम्बन्ध रहेको भन्न सकिने अवस्था नदेखिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् । तर नुनमा सिसा मिसिएर बिरामी परेको घटना र त्यसको चार दिनपछि परिवारकै हत्या भएको घटनाले गर्दा आशंका भने बढेको घटनास्थल जाँदै गरेका प्रजिअ वस्तीले बताएका छन् ।

यसैबिच भागेर ज्यान जोगाउन सफल भएकी १२ वर्षकी सीता खजुमलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ । सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरि हत्या भएको हो ।

धनराजको परिवारका पाँचजना र बमबहादुरको परिवारका चारजनाको हत्या भएको हो । हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक, ३६ वर्षीया जस्मिता फियाक, २६ वर्षीया मनकुमारी फियाक, ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

जेष्ठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू