शिल्पीका गोठाले–घिमिरे युवराज

जसका एकपछि अर्को नाटक सुपरहिट भइरहेका छन्

न्वारनमा बा–आमाले राखिदिएको नाम, युवराज। कान्छो छोरो, प्यारो सबैको प्यारो। पढाइमा लगनशील, काममा मेहनती। अनि आफ्ना मनका कुरा मिलाएर व्यक्त गर्न सारै सिपालु। सानैदेखि कथा–कविता लेख्ने। यसैले साथीहरु–शिक्षकहरुको मनमा राज गरेका थिए- ‘युवराज’ ले। घरपरिवार, छरछिमेक अनि स्कुलमा उनको पहिचान थियो।

मोरङपछि काठमाडौँमा उनी पहिचानकै लडाईँ लडिरहे।

तर,

२०५५/५६ साल आएपछि एकाएक उनको परिचय, पहिचान ओझेलमा पर्न थाल्यो। ‘भयो के भने, कान्तिपुर दैनिकमा सम्पादक भएर पत्रकार युवराज घिमिरे आउनुभयो। उहाँ आएपछि मलाई अप्ठ्यारो भयो,’ घिमिरे युवराज कारण खुलाउँदै गए, ‘म भर्खर लेख्दै गरेको मान्छे, उहाँ सम्पादक। नाम जुधेपछि धेरै गाह्रो अवस्था आइपर्‍यो।’

फसाद नपरोस् पनि कसरी, कहिँकहिँ उनलाई अर्कै युवराज भनिन्थ्यो, अनि मेल पनि हेराफेरी हुन्थे। तत्कालीन कान्तिपुरका सम्पादकको नामले आफू विलीन हुन लागेका जस्तो लागेपछि उनले पुनः नामाकरण गरे, ‘घिमिरे युवराज’।

संसारमा एकै अनुहार भएको मान्छे सातजना हुन्छन् भनेर हिन्दी चलचित्र ‘जानेमन’ मा देखाइएको छ। यस्तोमा नाम एउटै हुनु नौलो भएन। सार्वजनिक पदीय व्यक्तिसँग नाम जुध्दा युवराजलाई गाह्रो भयो। नत्र एकै नाम गरेका एउटै कक्षाका विद्यार्थीलाई ‘ए, बी, सी’ भनेर चिनाउने गरिन्छ। तर पहिचानको लडाइँ त ठूलो कुरा हो। यतिका वर्ष बित्दा पनि एकको फोन अर्कोलाई आउँछ। ‘इमेल पनि आउँछ। फरवार्ड गर्ने गरेको छु,’ घिमिरे युवराजले थप स्पष्ट पारे।

त्यतिबेला पत्रकारिता नै गर्थे घिमिरे युवराज। काठमाडौँमा बसेपछि केही गरेर पेट त पाल्नै पर्‍यो। नाटकमा पैसा खासै थिएन। परिस्थिति केही मात्र बदलिएको हो अरु उस्तै।

अहिले पनि नाटकमा काम गर्ने कलाकार अनि नाटकघर आफ्नो अस्तित्वको लागि लडिरहेका छन्। घिमिरे युवराज आफूलाई यो क्षेत्रमा टिकाउन प्रयोग गरिरहन्छन्।

उनले निर्देशन गर्ने नाटक युवराजको यो व्यवहारबाट अछुतो रहन सक्दैन, त्यसैले ‘कोमा अ पोलिटिकल सेक्स, बाथटब, द्वन्द्वमा आधारित सखी’ बनेका छन्। आन्तरिक द्वन्द्वको अर्को प्रयोगको प्रतिफल भयो, ‘आँधीको मनोरम नृत्य’। ‘नाटकमा खेल्ने र हेर्न आउने बच्चाले नै ‘हाम्रो बारेमा पनि नाटक हुँदैन, कथा कहाँ कहाँबाट ल्याउनुहुन्छ भनेपछि दिमागमा क्लिक भयो। शहरको व्यस्त जीवनमा बच्चा हुर्कने प्रक्रियालाई मञ्चमा उतार्न सुरुमा विद्यार्थीले नै मद्दत गरे। त्यसपछि मनोविद्, विद्यार्थी अनि शिक्षक र अभिभावकहरुसँगको लामो छलफलपछि मञ्चनको लागि तयार भयो नाटक ‘आँधीको मनोरम नृत्य’।

यो नाटकको लागि धेरै खोजी भएको छ, तब मात्र उनलाई हिम्मत आएको हो। यो म्युजिकल छ, वास्तविकताभन्दा अलि फरक ढंगको प्रस्तुति छ। नाटकमा बाहिरीभन्दा भित्री अर्थात मनको द्वन्द्व प्रस्तुत भएको छ। प्रदर्शनपछि राम्रो प्रतिक्रिया पाएका घिमिरे आफू एकदमै डराएको बताए। ‘आफैँले लेखेको, आफैले परिकल्पना गरेको अनि निर्देशनमा पनि सहकार्य गरेको यो पहिलो नाटक हो,’ युवराज भन्छन्, ‘योभन्दा अगाडि बाथटबले राम्रो प्रतिक्रिया पाएको थियो, त्यसले मलाई प्रेसर दिइरहेको थियो।’

हुन त डरलाई सकारात्मक उर्जाको रुपमा लिन सकियो भने फाइदा पुग्छ भन्ने प्रमाणित भयो। दरै मार खाइन्छ भन्ने उनको मनले सन्तोक मानिरहेको छ। शिल्पीमा उनको यो १३ औँ निर्देशन हो। अभिनयमा त उनले २० वर्ष काटिसके।

उनी अभिनयमा कसरी आए त ?


घिमिरे आफैँ उत्तर खोजिरहेका छन्। तराईमा हुर्केका युवराजको घर नजिक भारतीय सीमा पर्थ्यो। त्यसैले सानैमा धेरै भारतीय चलचित्र अनि टेलिभिजन आएपछि टेलिचलचित्र हेर्न पाए। त्यहीँबाट अभिनय गर्ने हुटहुटी मनमा मडारिएको थियो। स्कूले बच्चालाई चलचित्र अनि टेलिचलचित्रमा काम गर्ने अवसर कसरी आओस्, विकल्प खोज्ने क्रममा नाटकमा अभिनय गर्न सुरु गरे। त्यहीबेला हो लेख्न सुरु गरेको पनि।

गाउँमा एसएलसीसम्मको अध्ययन गरिसकेपछि उनी काठमाडौँ आए। उच्च शिक्षा पढाउन काठमाडौँ पठाएका बुवा–आमाले छोरा चट्ट कोट पाइन्ट लगाएर, हातमा सुटकेस ब्याग बोकेर बैंकमा जागिर खान्छ भन्ने सपना बुनेका थिए। घिमिरे युवराजले माता–पिताको मन तोडेका थिएनन्। स्नातकसम्म व्यवस्थापन नै अध्ययन गर्दै थिए। तर अभिनयको भोक भने मरिसकेको थिएन, केही प्रस्फुटन नभई साम्य हुनेवाला थिएन।

त्यही बेला राष्ट्रिय नाचघरमा एक वर्षको नाटकको कोर्स हुन्छ भन्ने थाहा पाए। हरिहर शर्मा, सुनिल पोख्रेल, वीरेन्द्र हमाल, प्रभाकर शर्मा लगायतका गुरुले सिकाए। २०५६ सालमा तालिम सकियो, २०५७ बाट आरोहणमा ‘नाटक’ खेल्न सुरु गरे। परिवारको अपेक्षा अर्कै भए पनि उनले हिँडेको बाटो भने कसैले छेकेन।

अभिभावक र सन्तानबीच ‘जेनेरेशन ग्याप’ को खाल्डो हुन्छ, कतिपय युवाहरु यो खाल्डो पुर्न सक्षम हुन्छन् भने कतिपयले सक्दैनन्। घिमिरेका दाइले भाइलाई साहित्य लेख्न, पढ्न मन गर्छ भनेर मधुपर्क लगायतका समकालिन साहित्यिक पत्रपत्रिका ल्याइदिन्थे।

भोलि भाइ साहित्य र कलाकै क्षेत्रमा लाग्छन् भन्ने त दाजुले पनि चिताएका थिएनन् होला।

‘भोलि के हुन्छ कसले देख्या छ र?’ त्यसैले त्यसको चिन्ता गर्नु व्यर्थ भन्छन् युवराज, जे आउँछ गर्दै जाने हो। आफूलाई बुझेका मानिसलाई बुझाउने, प्रष्ट कुरा गर्नाले जीवनमा समस्या आएको छैन।

उनकी जीवनसंगिनी पनि नाटक हेर्न आएकै बेला भेटिएकी हुन्, २०६३ सालमा गुरुकुलमा। राम्रो लाग्यो, मन मिल्यो अनि फोन नम्बर साटासाट गर्दै एक वर्षपछि जीवनका उतार चढाव बाँड्ने निर्णय भयो।

घिमिरे युवराजले आफ्नो जीवनको डोरो आफैँ अगाडि बढाए। उनको हर यात्राको ज्ञाता आमा थिइन्। छोराले हिँडेको बाटो मन परेरै होला, विश्वास लागेर नै होला छोराको इच्छामा कहिले पनि नाइँ भनिनन्। मन परेकी ‘लुना’ को फोटो देखाउँदा आमाले ‘ओके’ भनिन्। गुरुकुलमा काम गर्दा आमाले छोराको काम बुझेकी थिइन्। छोराले नामसँगै अलिअलि दाम पनि कमाइरहेको थियो।

नाटकप्रति सिरियस


२०६४ मा थियटरको पढाइका लागि उनलाई कोपनहेगन जाने अवसर जुर्‍यो। यसले परिवार तथा सर्कलमा ‘नाटक’ जोक होइन भन्ने कुरा स्थापित भयो। उनले पनि दुई वर्षको ज्ञानलाई जीवनको लक्ष्य नै बनाए। मेहनतले बचत सिकायो, थोरै थोरै जोहो गरेर जीवन चलाउने सीप अनि जिम्मेवारी बहन गर्ने तत्परताले उनले आफूमाथि कसैको गुनासो रहन दिएनन्।

उनी बालकोटबाट बिहान ७ बजे नै शिल्पी आइपुग्छन्, बेलुकासम्म हुन्छन्। श्रीमती हरेक नाटक हेर्छिन्, विचारको पहिलो पाठक हुन्छिन् । युवराजको सपनाको लागि लुनाको पनि गम्भीरता छ।

छ्यास्स दारी अनि नमिलाइएको कपाल भएको उनको आवरण आउँदै गरेको नाटकको तयारी थियो। उनी भन्छन्, ‘थाहा नपाउने मान्छेले कस्तो फोहोरी भन्ला तर यो हामीले आफूलाई पात्रको रुपमा श्रृंगारेका हौँ।’ केही समय अगाडि उनी आधा खौरिएको टाउको देखाउँदै हिँडेका थिए। नाटकको एउटा मन्त्र छ, ‘ट्राइ टू बि अग्ली’ नाटकले सौन्दर्य शास्त्रको ‘क्लिन सेभ’ परिभाषालाई भत्काइन्छ।

भिडियो:

नाटक क्षेत्रमा आएको परिवर्तन


ललितकलाको विधामा नाटकमात्र सुन्दर हो भन्नु मुर्खता हो भन्छन् युवराज, ‘चलचित्र त्यति राम्रो छन्, चित्रकला, साहित्य अर्को राम्रो कुरा हो। नेपालको बहुजाति बहुभाषि सँस्कृति जस्तै।’ उनी थप्छन्, ‘आर्ट ग्यालरी होस्, कन्सर्ट होस्, किसिम किसिमका साहित्य पढ्न पाउनुपर्छ।’

पछिल्लो १५ वर्षमा विभिन्न अभ्यास भएको छ नाट्य क्षेत्रको विकासको लागि। निजी क्षेत्र आकर्षित हुनु र काठमाडौँ लगायत बाहिर जिल्लामा नाटकघर खुल्नु सकारात्मक बाटो हो। अझै बक्स अफिसको झैँ टिकट काटेर आयआर्जन गर्ने कलाकार हुनु एकदमै खुशीको कुरा भएकोमा घिमिरे युवराज मत राख्छन्। उनी यसलाई ‘दुस्साहस’ भन्छन्।

शिल्पीको पनि ‘गाउँगाउँमा रंगमञ्च’ भन्ने प्रोजेक्ट छ।

२० वर्षको थिएटर अनुभवले उनलाई नाट्य क्षेत्रको उर्वरशीलता पहिल्याउन अनि अरुलाई सिकाउन परिपक्व बनाएको छ। उनलाई नाट्यकर्मी बनाउने गुरुकूल र टोटन हेगनको यात्राले अतुलनीय भूमिका खेल्यो। उनी नेपालका नाटकघरमा नाटक हेर्छन् पनि।

कहिलेकाहिँ जीवन नै नाटक बन्छ, ‘जताततै निराशाको माहोल, असफलताको भोगाइ गर्दा लाग्छ यो काम च्वाट्टै छोडिदिउँ। फेरि यो शहरमा केही मान्छे हुन्छन् जसले ओइलाएको मनलाई ताजा बनाइदिन्छ। कुमार नगरकोटी, अभिनाश श्रेष्ठ, अनि टिमका साथीहरुले आशाको डोरो बुन्छन्। यो क्षेत्रमा चरम निराशा भोगेर सुन्दर बिहानी देखेका युवराज भन्छन्, ‘जीवन यात्रा नै रहेछ।’

युवराज नाट्यकर्मी नभएको भए के हुन्थे होला त?


थिएटर मेहनती काम हो, यहाँ सेट पुछ्नेदेखि मञ्च सजाउन आवश्यक सामान बनाउनलाई परिश्रम गर्नैपर्छ। हुर्कदै गर्दा आफूमा भएको विभिन्न सम्भावनाबाट उपयुक्त आयाम छाट्ने गरिन्छ। यो नभए त्यो भन्ने ‘अप्सन’ जहिले पनि दिमागमा टनन बजिरहेको हुन्छ। बा–आमाले बैंकर बनाउने सपना देखेका थिए, उनी कलाकारितामा आए।

‘मलाई पढाउने रहर छ, शिक्षक पनि हुन सक्थेँ,’ कुराकानीको बिट मार्दै उनले भने, ‘सानोमा गोरु जोतेको, मंसिरमा धान भित्राएको, खेतमा कान्ला तासेर कमार बनाएको, दाइँ गरेको अनि खेतको माटोको गन्ध नाकले रुचाएको स्मरण ताजै छ। उनी भन्छन्, ‘मलाई माटोसँग मोह छ, म यो क्षेत्रमा नआएको भए मेहनती किसान हुन्थे। तर भइन ।’

सबै तस्बिर तथा भिडियो : रविन आचार्य/देश सञ्चार