क्रिकेटबाट सन्यासपछि पेन्टिङमा करियर बनाउन सक्ने धोनीको संकेत

एजेन्सी-भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले क्रिकेटबाट सन्यास लिएपछि पेन्टिङमा आफ्नो करियर बनाउन सक्ने संकेत गरेका छन्।

यतिवेला सामाजिक सञ्जालमा भाइरल भइरहेको उनको एउटा भिडियोमा उनले यस्तो संकेत गरेका हुन्।

भिडियोमा धोनीले भनेका छन्,‘म सानो हुँदा एउटा आर्टिस्ट बन्न चाहन्थें। मैले क्रिकेट धेरै खेलिसकें, यसकारण पनि यो निर्णय लिएको छु। म वास्तवमा के बन्न चाहन्थें, त्यसमाथि विचार गर्ने समय आएको छ। त्यसैले पनि मैले पेन्टिङ बनाउन सुरु गरेको छु। मैले केही पेन्टिङ बनाएको पनि छु। म यसलाई करियरको रुपमा अँगाल्नको लागि तयार छु।’

धोनीको यो भिडियो एक दिवसीय विश्वकप क्रिकेट सुरु हुनु  भन्दा केही दिन पहिले मात्रै सार्वजनिक भएको छ।

यो भिडियो भाइरल भएबाट एक दिवसीय विश्वकपपछि भारतीय टीमका पूर्व कप्तान धोनीले क्रिकेटलाई अलविदा भन्ने कुराको भने स्पष्ट संकेट मिलेको छ। धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिइसकेका छन्।

उक्त भिडियोमा धोनीले आफूले बनाएका तीन वटा पेन्टिङ पनि देखाएका छन्।

यसक्रममा उनले क्रिकेटबाट सन्यास लिने विषयमा कुनै कुरा गरेका छैनन्। यस वर्ष भएको आईपीएल क्रिकेटमा उनको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सले फाइनल खेलेकाे  थियाे।

धोनी आगामी मे ३० देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि भारतीय टोलीमा रहेका छन्।

जेठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्