लोकसभा चुनाव

मतदान मेसिनमा गडबडी गरेको आरोप, २१ विपक्षी दल निर्वाचन आयोगमा

लोकसभा चुनावको नतिजा घोषणा हुनु भन्दा दुई दिनअघि भारतका विभिन्न २१ विपक्षी पार्टीले निर्वाचन आयोगका अधिकारीलाई भेटेर मतदान मेसिन (इबिएम) मा गडबडी गर्न खोजिएका भन्ने खबरप्रति सचेत गराएका छन् ।

कांग्रेससहितका विपक्षी दलका नेताले मंगलबार निर्वाचन आयोगका सदस्यालाई भेटेका हुन् । उनीहरुले विभिन्न ठाउँमा जिल्ला प्रशासन कार्यालयलाई प्रभावमा पारेर इबिएम मेसिनमा बदलाव या त्यसमा गडबडी गर्न खोजिएका खबर आएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका हुन् ।

निर्वाचन आयोगका सदस्यसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै कांग्रेसका वरिष्ठ नेता गुलाम नबी आजादले आफूहरुले इबिएम मेसिनमा भइरहेको छेडछाडका सम्बन्धमा आएका खबरप्रति सचेत गराएको बताए ।

आफूहरुले बिहीबार हुने मतगणनाको क्रममा इबिएमसँगै भोटर भेरिभाइड पेपर ट्रेल लिस्टसँग मिलाएर गणना हुनु पर्ने माग गरेका छन् । निर्वाचन आयोगले यसबारे बैठक बसेर निर्णय गर्ने बताएको नेता आजादले बताएका छन् ।

यसैबिच इबिएम मेसिनमा गडबडी भइरहेको भन्ने खबरप्रति पूर्व राष्ट्रपति प्रणब मुखर्जीले पनि चिन्ता जताएका छन् । उनले निर्वाचन आयोगसँग आफ्नो संस्थागत विश्वसनीयता सुनिश्चित गर्न अपिल गरेका छन्

जेष्ठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्