सांसद विनोद चौधरी भन्छन्, ‘भूमिको उपयोग उत्पादन वृद्धिका लागि हुनुपर्छ’

काठमाडौ-सांसद विनोद कुमार चौधरीले देशको आर्थिक विकासको लक्ष्यसँग जोडेर भूमि सम्बन्धी कानून निर्माण हुनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभामा भूमि सम्बन्धि आठौ“ संसोधन विधेयकमाथि आफ्नो धारणा राख्नु हुदै सांसद चौधरीले भूमिको उपयोग उत्पादन बृद्धिका लागि हुनुपर्नेमा जोड दिए।

इन्डस्ट्रियल पार्क, एजुकेशन सिटी र कमर्सियल फार्मिङ जस्ता अवधारणा कार्यान्वयन गर्न आवस्यक पर्ने भूमि सहज रुपमा उपलब्ध हुने गरि कानून निर्माण गर्नु आवस्यक रहेको उनले बताए।

‘उत्पादनशिल उद्योगहरूमा लगानी अभिबृद्धि गरि उत्पादन बृद्धि गर्नु अहिलेको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो। त्यसका लागि उत्पादनशिल क्षेत्रमा लगानी गर्नेहरुलाई सहज रूपमा जग्गा उपलब्ध गराउने वातावरण तयार गर्नुपर्छ’ सांसद चौधरीले भने।

कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा उत्पादनशिल क्षेत्रको योगदान १२ प्रतिशतबाट घटेर ६ प्रतिशत पुगेको तथ्य प्रस्तुत गर्दै उद्योगपति समेत रहेका सांसद चौधरीले भने, ‘यस्ता समग्र पक्षलाई ध्यानमा राखेर मात्रै हामीले भूमिसम्वन्धी कानून बनाउनुपर्छ। अन्यथा नेपालमा लगानीकर्ताहरूको मनोवल अरू खस्किन सक्छ।’

उनले औद्योगिक र शैक्षिक सस्थाहरूको स्वामित्वमा रहेको तर उपयोग गर्न बाँकी रहेको जग्गा फिर्ता गर्ने सोंच राख्नु सहि नभएको बताए। उनले भने, ‘यदि औद्योगिक प्रयोजनले लिएको जग्गा उपयोग हुन सकिरहेको छैन भने राज्यले किन यस्तो भयो भनेर लगानीकर्ताको कुरा सुन्नुपर्छ र उसलाई सहजीकरण गरिदिन सक्नुपर्छ,हामीले के बुझ्नुपर्छ भने लगानीकर्ताले उद्योगका लागि लिएको जग्गामा कदापी घर बनाएर बस्दैन। उत्पादन बढाउनकै लागि उसले त्यो जमिनको प्रयोग गर्छ।’

सांसद चौधरीले आजको विश्वमा विस्तार भइरहेका आर्थिक क्षेत्र र कमर्सियसल फार्मिङका उदारहण प्रस्तुत गर्दै जमिनको खण्डिकरणबाट देशलाई औद्योगिकरण र व्यवसायिक कृषीको जग बसाल्न सम्भव नभएको बताए।

मुलुक आर्थिक समृद्धिको योजनामा अगाडि बढिरहदा उत्पादन बृद्धिको आधारभूत पक्ष भूमिको उपयोग सम्वन्धी अवधारणालाई देशको वृहत्तर आर्थिक विकाससँग जोडेर अगाडि बढ्नका लागि यो सही समय भएको उनको भनाइ थियो।

जेष्ठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्