असार १५ गतेदेखि श्रम स्वीकृति लिन सीप अनिवार्य

विदेश जाने श्रमिकलाई सीप तालिम अनिवार्य नगर्न व्यवसायीको माग

काठमाडौँ– विदेश जाने श्रमिकलाई सीप तालिम अनिवार्य नगर्न वैदेशिक रोजगार व्यवसायीले माग गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मंगलबार वैदेशिक रोजगार विभागमा ज्ञापन पत्र बुझाउँदै सीप तालिमलाई अनिवार्य गरिए संघले आन्दोलन गर्ने चेतावनी दिएको हो।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असार १५ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य सीप तालिम लिएको हुनु पर्ने र सीप तालिमको प्रमाण पत्र पेश नगर्ने श्रमिकलाई श्रम स्वीकृति नदिने निर्णय गरेको छ ।

तर व्यवसायीले त्यसअघि विभिन्न विषय संशोधन तथा व्यवस्थापन गर्नु पर्ने माग गरेको हो।

संघले वैदेशिक रोजगार ऐन २०६४ को दफा १९ को व्यवस्था परिमार्जन/संशोधन गरी रोजगारदाता कम्पनीले कामदारालाई प्रदान गर्ने करारपत्रमा उल्लेख गरिउको पदलाई आधार मानी अन्तिम श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गरेको छ।

संघले विदेशमा काम गरेर फर्किएका तथा देशमै सीप सिकेका कामदारको सीप परीक्षणको व्यवस्था सातवटै प्रदेशमा गर्नु पर्ने बताएको छ। यस्तै विदेशमा काम गरेर फर्किएका श्रमिकलाई अनुभवको प्रमाण पत्र दिने व्यवस्था गर्न र त्यस्तो प्रमाणपत्रलाई पनि मान्यता दिन कार्यविधि बनाउनु पर्ने माग गरेको छ।

यस्तै व्यवसायीले अन्तर्राष्ट्रिय मापदण्ड र मान्यता प्राप्त वैदेशिक रोजगार व्यवसायीले सञ्चालन गरेका तालिम केन्द्रलाई प्राथमिकतामा राखेर सूचिकृत गर्न व्यवसायीले माग गरेका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले देशमा पर्याप्त रोजगारी नहुनु र विदेशीले उच्च ओहोदामा प्रवासी कामदारलाई भिसा नदिने भएकाले अहिले नै यो नियम कार्यन्वयन गर्न नहुने बताए। उनले भने, ‘हामी विदेश जाने युवालाई अनिवार्य सीप तालिम नगर्नु भन्ने पक्षमा होइनौं तर त्यसले निम्त्याउने समस्याका बारेमा सरकारले ख्याल गर्नु पर्छ भनेका हौं । विदेशीले राम्रा काममा आफ्नै देशका नागरिकलाई प्राथमिकता दिने भनेका छन्। रोजगारदाताले ती कामका लागि हामीलाई भिसा दिँदैनन्। उनीहरु लेवरको भिसा दिएर माथिल्लो पदमा काम लगाइरहेका छन्।’

हाम्रो र गन्तव्य देशको नीति फरक पर्दा व्यवसायीले समस्या भोग्नु परेको अध्यक्ष गुरुङले बताए। दुई खालको करार पत्र तयार गर्नु पर्ने कारण पनि यही भएको उनको भनाई छ।

यस्तै तालिमका नाममा श्रमिकबाट चर्को शुल्क लिन लागिएको भन्दै बेरोजगारलाई सीप सिकाउने नाममा आर्थिक भार पार्न नहुने बताएका छन्। निशुल्क सीप तालिमको व्यवस्था गर्नु उनले माग गरेका छन्।

लेवरको भिसामा गएर विभिन्न देशमा सुपरभाइजरको काम गरिरहेका नेपाली धेरै रहेको उनकोक दाबी छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले भने तालिमबिना स्वीकृति नदिने बरु तालिमलाई कसरी व्यवस्थित गर्ने र अन्तर्राष्ट्रिय माग अनुसारको बनाउने भन्नेमा लाग्न व्यवसायीलाई सुझाव दिए।

जेठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्