राष्ट्र बैंकले ६ अर्बको ऋणपत्र बिक्री गर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले रु ६ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ।

बैंकले आज सूचना प्रकाशित गरी यही जेठ ९ गते बिहीबार ‘विकास ऋणपत्र २०८९ ख’ बिक्री गर्ने जानकारी दिएको हो।

बोलकबोलको माध्यमबाट उक्त ऋणपत्र बिक्री गर्न लागिएको हो।

बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेसमेत सूचनामा उल्लेख छ।

घटीमा रु ५० हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबरको खरीद गर्न पाइने व्यवस्था गरिएको छ।

बैंकका अनुसार ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेञ्जमा हुनेछ।

जेठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्