किर्ते मुद्दामा अदालतबाट सजाय सुनाइएका चौधरी १७ वर्षपछि पक्राउ

वीरगञ्ज-किर्ते मुद्दामा अदालतबाट सजाय सुनाइएका एक जनालाई बारा प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ।

बाराको साविक बिसुनपुर्वा वडा नम्बर–८ हाल बारागढी गाउँपालिका वडा नम्बर २ बस्ने ६५ वषीय दुखा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका चौधरीलाई किर्ते मुद्दामा २०५९ साल चैत्र १९ गते जिल्ला अदालत बाराले ८ लाख ४९ हजार ५ सय जरिवाना गरेकोमा उनी हालसम्म फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले आफ्नै गाँउघरमा लुकीछिपी बसेको अवस्थामा चौधरीलाई फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका चौधरीलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको फैसला अनुसार जरिवाना भुक्तान गर्न नसकी जरिवाना बापत २ वर्ष कैदको लागि कारागार कार्यालय विरगञ्ज ल्याईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

जेठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्