१२ हजार कुखुराको चल्लासहित ५ जना पक्राउ

वीरगञ्ज-१२ हजार कुखुराका चल्लासहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बंकुल टोलस्थित सडकमा चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई कुखुराको चल्ला सहित नियन्त्रणमा लिएको हो।

विज्ञापन

पक्राउ पर्नेमा गाडी चालक निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने ३४ बर्षीय उदय कुमार अस्थानी मगर, वडा नम्बर ८ बस्ने २३ बर्षीय दिनेश गौतम र कामदारहरु वडा नम्बर ९ बस्ने २४ बर्षीय धर्म बहादुर अधिकारी, ३३ बर्षीय अशोक न्यौपाने, र वडा नम्बर ७ बस्ने २६ बर्षीय विरेन्द्र आचार्य रहेका छन।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएका प्रहरी टोलीले नेपालबाट ना.४ च. ७५७६ र ना. ४ च.६१५१ नम्बरको पिकअप बोलेरो गाडीमा लोड गरी भारत तर्फ लैजाँदै गरेको अवस्थामा अवैध कुखुराको चल्लासहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका पाँचै जनालाई गाडी र चल्ला सहित आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रायजसो भारतबाटने पालमा तस्करी भएर आउने गरेको कुखुराको चल्ला पछिल्लो समय नेपालबाट भारततर्फ तस्करी हुन थालेको छ।

अहिले नेपालमा भन्दा कुखुराको चल्ला भारतमा महँगो भएपछि तस्करहरुले नेपालबाट भारततर्फ कुखुराको चल्ला तस्करी गर्न लागेका छन्।

जेष्ठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्