नरैनापुरमा प्रहरी थपियो, एसपी भन्छन्,’सुरक्षामा कुनै कमी छैन’

नेपालगञ्ज – बाँके प्रहरीले नरैनापुरमा प्रहरी संख्या बढाएको छ। प्रहरीको संख्या हुँदा गत शुक्रबार चरेशसहित पक्राउ परेका भारतीय नागरिकलाई चौकीबाटै थुतेर लैजान स्थानीयले घेराउ गरेका थिए।

प्रहरीले ६३ राउण्ड हवाई फायर र निरन्तर अश्रुग्याँस हानेर भीडलाई तितरबितर पारेको थियो। त्यही दिन अनुगमनका लागि नरैनापुरमा पुगेकी प्रदेश सांसद कृष्णा केसीलाई भीडले घेराबन्दीमा पारेको थियो।

नेपाली भूमिमा भारतीयको उपस्थितिमा चौकी घेराउ, प्रहरीको गाडी, मोटरसाइकल र वाकीटाकी तोडफोड भएपछि नरैनापुरको सुरक्षा चिन्ता गरिएको थियो। प्रदेश सांसद केसीले भोलीपल्ट नै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भेटेर प्रहरीको संख्या बढाउन आग्रह गरेकी थिइन्। बाँके प्रहरीले त्यस घटनापछि नरैनापुरमा प्रहरी संख्या बढाएको छ। नरैनापुरमा नेपालगञ्जको गणबाट लगेर प्रहरी थपिएको एसपी अरुण पौडेलले बताए।

एसपी पौडेलको टोलीले मंगलबार नरैनापुरको स्थलगत निरीक्षण गरेको थियो। गतवर्ष शुक्रबार घटना हुँदा पौडेल जिल्ला बाहिर थिए। त्यस दिनको कमाण्ड डिएसपी प्रकाश सापकोटाले गरेका थिए।

नरैनापुरमा पुगेर एसपी पौडेलले शुक्रबारको घटनालाई ठूलो क्षति हुन नदिई शान्त पारेकोमा सबै प्रहरीलाई धन्यवाद दिए। ‘त्यो दिन त्यहाँका प्रहरीले धेरै राम्रो काम गरे। त्यत्रो ठूलो भीडलाई कुनै क्षति नगराई पाखा लगाए, एसपी पौडेलले भने, ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्छु।’

जिल्ला पूर्वी–दक्षिण सीमानामा रहेको नरैनापुरमा प्रहरीका आधा दर्जन कार्यालय छन्। भगवानपुरमा प्रहरी निरीक्षक र नरैनापुरमा सईको कमाण्डमा इलाका प्रहरी कार्यालय रहेका छन्। सुईया, कालाफाँटा, गंगापुर, लक्ष्मणपुरमा चौकी छन्।

प्रहरीको संख्या भने कम रहेको छ। शुक्रबारको घटनापछि गणबाट थप टोली पठाएर राखिएको छ। चौकीहरुको स्तरबृद्धि गर्न जिल्लाले अध्ययन थालिसकेको छ।

एसपी पौडेलले नरैनापुरमा सुरक्षाको कुनै चिन्ता नरहेको बताए। ‘अहिले नै थप परिचालन गरेका छौं, एसपी पौडेलले भने, आवश्यकता अनुसार बढाउँछौं।’
एसपी पौडेलले शुक्रबारको घटनामा प्रहरीको गाडी, मोटरसाइकल तोडफोड गर्नेको खोजी भइरहेको बताए।‘घटनामा संलग्नको खोजी भइरहेको छ, एसपी पौडेलले भने, त्यसलाई कारबाही गर्छौ।’

नरैनापुर ठूलो ठाउँ हो। भारतीय सीमासँग जोडिएकाले सधैं सुरक्षा चुनौती रहने गर्दछ। शुक्रबारको घटनापछि जिल्लाको नजर नरैनापुरमा पुगेको छ।

जेष्ठ ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्