बिहेभन्दा आठ दिन पहिले आत्महत्या

सांकेतिक तस्बिर

गौशाला – महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले दुलहाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ १५ गते विवाह हुनलागेको भङ्गहा नपा–७ बस्ने जयनारायण महराका छोरा २२ वर्षीय सुवोधकुमार महराले आत्महत्या गरेका हुन् ।

विज्ञापन

उनको शव घरभन्दा ५०० मिटर परको जङ्गलमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

युवक महराको विवाहको सबै तयारी पूरा भइसकेर घरमा मटकोर पूजा (बिहेअघिको विशेष विधि) समेत भइसकेको थियो ।

यही जेठ १५ गते छिमेकी गाउँ औरही नगरपालिका–७ मा जन्ती गएर विवाह गर्न मात्रै बाँकी रहँदा अचानक उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

घरायसी तनावका कारण युवकले आत्महत्या गरेको हुनसक्ने आशङ्का गर्दै प्रहरीले मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको तथा घटनाबारे अनुसन्धान भइरहेको जिप्रका महोत्तरीले जनाएको छ ।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू