गर्भपतनमाथि प्रतिबन्ध लगाउने कानूनको विरोधमा अमेरिकाभर प्रदर्शन

गर्भपतमाथि प्रतिबन्ध लगाउने कानून विभिन्न राज्यले पारित गरेपछि त्यसको विरोधमा अमेरिकाभर विरोध प्रदर्शन भएको छ । गर्भपतनमाथि प्रतिबन्ध वा त्यसलाई अति नै सीमित गर्ने सम्बन्धी कानूनको विरोधमा हजारौँ मानिस अमेरिकाभर प्रदर्शनमा उत्रिएका हुन् ।

रिपब्लिकन पार्टीको बाहुल्यता रहेका राज्यहरुले गर्भपतनमाथि प्रतिबन्ध लगाउने कानून पारित गरिरहेका छन् । जसले सर्वोच्च अदालतले गरेको फैसलालाई चुनौति दिएको छ ।

अमेरिकामा सन् १९७३ मा सर्वोच्च अदालतको फैसलासँगै गर्भपतनले कानूनी मान्यता पाएको थियो । तर रिपब्लिकन बाहुल्य राज्यमा बनेका नयाँ कानूनले आफ्नो शरीरमाथिको निर्णय लिने अधिकार महिलाबाट खोसेको भन्दै विरोध भएको हो ।

गएको हप्ता अलाबामा राज्यले गर्भपतनमाथि प्रतिबन्ध लगाउने कानून पारित गरेको थियो । यस्तै अर्कान्सस, जर्जिया, केन्टुकी, मिजोरी र ओहायो राज्यले पनि यस्तै कानून पारित गरेका छन् ।

यो वर्षको सुरुमा सर्वोच्च अदालतले लुजियाना राज्यमा गर्भपतनमाथि प्रतिबन्ध लगाउने कानून लागु गर्न रोक लगाएको थियो ।

जेठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्