एन्फाको यु–१३ मा बाँकेबाट विपिन

नेपालगञ्ज – बाँकेका विपिन थापा एन्फा एकेडेमी आवासीय प्रशिक्षणका लागि छनौट भएका छन् ।

अखिल नेपाल फुटबल संघले देशभरबाट १३ वर्षमुनिका बालकलाई लक्षित गरेर आवासीय प्रशिक्षण चलाउने नीति अघि सारेको छ । जिल्लाबाट छनौट भएर गएका दश जना बालकमध्ये विपिनमात्रै एन्फा एकेडेमी आवासीय प्रशिक्षणमा छनौट भएका हुन् ।

खजुराका विपिनले जिल्ला, प्रदेशका धेरै सहकर्मीलाई ‘माथ’ दिएर छनौटमा पर्न सफल भएको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।
एन्फाले देशभरबाट १३ वर्षमुनिका प्रतिभावान बालकलाई छनौट गरेर बुटवल र धरानमा एकेडेमी सञ्चालन गर्दैछ ।

छनौटमा परेका बालकलाई एन्फाले खाने, बस्ने, पढ्ने सबै व्यवस्था गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले बताए । विपिन एन्फा एकेडेमी आवासी प्रशिक्षणमा छनौट भएपछि आमा नविना श्रेष्ठ थापा र बुवा जेबी थापाले खुशी व्यक्त गरेका छन् ।

‘मेरो छोरालाई एन्फा एकेडेमी छनौट गराउन जजसले जसरी सहयोग गर्नुभयो । सबैलाई धेरै धेरै धन्यवाद छ, आमा नगिनाले भनिन् । नगिना र जेबी फुटबलप्रेमीमात्रै होइन, पूर्व खेलाडी हुन् ।

एन्फाका प्रशिक्षक रविन्द्र श्रेष्ठले विपिन प्रतिभावान खेलाडी भएको बताए । संघले नेपालगञ्जको धम्बोझीमा सञ्चालन गरेको ग्रासरुट फुटबल प्रशिक्षणमा कहिलेकाही विपिन आउने गर्दथे ।

एन्फाले खाने, बस्ने, पढ्ने सबै व्यवस्था गर्ने भएकाले एन्फा एकेडेमीमा पर्नुलाई ठूलो मानिने गरिएको छ ।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू