बालबालिकामा फैलियो एचआइभीको महामारी, बुवाआमामा भने छैन

पाकिस्तानको दक्षिणी क्षेत्रमा रहेको बजार रातो डेरोका बालबालिकामा अप्रत्यासित रुपमा एचआइभीको संक्रमण फैलिएको छ । गएको फेब्रुअरीदेखि सो क्षेत्रमा एचआइभीको संक्रमण फैलिएको हो ।

आफ्ना सन्तानलाई लगातार ज्वरो आएपछि अभिभावकले स्थानीय अस्पताल गएको थिए । त्यसपछि समान खालका अरु बिरामी बालबालिका पनि थपिए । उपचार गर्दा पनि निको भएन, डाक्टरहरु रनभुल्लमा परे ।

त्यसपछि रगत परीक्षणका लागि पठाइएको थियो । नजिताले सबैलाई आश्चर्यमा पा¥यो, बालबालिकालाई एचआइभीको संक्रमण भएको रहेछ । तर उनीहरुका अभिभावमा भने संक्रमण छैन । उनीहरुमा कसरी एचआइभी संक्रमण भयो भन्ने खुल्न सकेको छैन ।

गएको अप्रिल २४ सम्मको तथ्यांक अनुसार सो क्षेत्रका १५ बालबालिकामा एचआइभीको संक्रमण पुष्टि भएको छ, जसका अभिभावकमा एचआइभीको संक्रमण छैन । यो उदाहरण मात्रै हो । यसरी महामारीको रुप लिएपछि एचआइभी संक्रमण भएका ६०७ जनालाई एक क्याम्पमा राखिएको छ, जसमा ७५ प्रतिशत बालबालिका छन् ।

सिन्ध प्रान्तको सो क्षेत्रमा यस्तो महामारी फैलिएको पहिलो पटक भने होइन । सिन्ध प्रान्तकै लार्काना क्षेत्रमा सन् २०१६ मा पनि यस्तै घटना भएको थियो । त्यो बेला १५२१ जनामा एचआइभीको संक्रमण पुष्टि भएको थियो । त्यो बेला संक्रमण हुनेमा अधिकांश पुरुष थिए र यसको कारण यौनकर्मीसँग जानु पाइएको थियो । सो क्षेत्रमा अधिकांश यौनकर्मी तेस्रो लिंगी थिए र ३२ जना यौनकर्मीमा एचआइभीको संक्रमण पाइएको थियो ।

तर पछिल्लो पटक बालबालिकामा फैलिएको संक्रमणको कारण भने स्थानीय औषधि पसल या मेडिकलमा कार्यरत स्वास्थ्य कर्मीले निर्मलीकरण नगरिएको या पुरानो सिरिन्ज नै प्रयोग गरेका कारण हुन सक्ने अनुमान गरिएको छ ।

एचआइभी संक्रमतिलाई लगाएको सिरिन्ज नै बालबालिकालाई लगाएका कारण संक्रमण फैलिएको अनुमान छ । सिरिन्जबाट एचआइभी फैलाएको आरोपमा स्थानीय चिकित्सक डा. मुजफर घाङरो पक्राउ परेका छन् । उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्