पर्साको देउरियाबाट ४२ किलो चरेश र दुई क्विन्टल गाजा बरामद

वीरगञ्‍ज-प्रहरीले पर्साको ग्रामीण क्षेत्रबाट फेरि लागु औषध गाँजा र चरेश बरामद गरेको छ।

प्रहरीले पर्साको पटेर्वासुगौली गाउपालिका वडा नम्बर ५ देउरिया टोलबाट लागुऔषध गाँजा र चरेश बरामद गरेको हो।

विज्ञापन

लागुऔषध लुकाई छिपाई राखेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले देउरिया टोलका ठग ओझैयाको घरबाट चरेश २२ किलो, गाँजाको धुलो २४ किलो चरेश बनाउन प्रयोग हुने मेसिन ११ थान, काठको फ्रेम २३ थान बरामद गरेको छ।

यस्तै चेकजाँच गर्नेक्रममा अन्य खुल्ला जमिन, नाला, बाँसको झ्याङ तथा खेतवारीमा बेवारिसे अवस्थामा रहेको १ क्विन्टल ७८ किला गाँजा, गाँजाको धुलो ५० किलो र चरेश २० किलो बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।

यसअघि पनि गएको जेठ ३ गते सोही गाउँपालिकाको वडा नम्बर ५ देउरिया टोलबाटै प्रहरीले बिभिन्न घरहरुमा चेकजाँच गर्नेक्रममा लागुऔषध गाँजा ३ क्विन्टल ८४ किलो र चरेश १९ किलो बरामद गरेको थियो।

पर्सा जिल्लामा लागुऔषध गाँजा र चरेशको खेती नहुने गरेको भए पनि जिल्लाका ग्राीण क्षेत्रहरुमा गाँजा भण्डारण गरेर राख्ने गरिएको छ।छिमेकी जिल्ला मकवानपुर धादिङ लगायतका जिल्लाहरुमा उत्पादित गाँजा तथा चरेशहरु तस्करहरुले भारततर्फ लैजानको लागि पर्साको ग्रामीण क्षेत्रमा भण्डारण गरेर राख्ने गरेका छन्।

तस्करहरुले जँगलको बाटो भएर मकवानपुर धादिङ भएर ल्याइएको लागुऔषधलाई ग्रामीण क्षेत्रका नाकाहरुमार्फत भारतसमम पुर्‍याउने गरेका छन्।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्