विद्यायलको ५ लाख लिएर प्रधानाध्यापक फरार

वीरगञ्ज-वीरगञ्ज महानगरपालिकामा रहेको एक सामुदायिक विद्यालयको भवन निर्माणको लागि आएको रकम लिएर प्रधानाध्यापक फरार भएका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर-३१ बेल्वा टोलमा रहेको सामुदायिक विद्यालयको ५ लाख रकम लिएर प्रधानाध्यापक फरार भएका हुन्।

विद्यालयका पूर्वप्रधानाध्यापक सन्तोष कुमार गुप्ताले विद्यालयको भवन निर्माणको लागि तात्कालिन जिल्ला शिक्षा कार्यालय पर्साबाट आएको ५ लाख रकम लिएर फरार भएका हुन्।

विद्यालयमा अपुग रहेको कक्षा कोठाको निर्माणको लागि जिल्ला शिक्षा कार्यालय पर्साबाट आएको रकम मध्ये ५ लाख रकम २०७४ सालमा विद्यालयका प्रधानाध्यापक रहेका गुप्ता हालसम्म सम्पर्कविहीन रहेको हाल विद्यालयको प्रधानाध्यापक रहेका सचिन्द्र कापरले बताए।

वि.सं. २०७४ सालमा विद्यालयमा अपुग रहेको कक्षा कोठा निर्माण गराउनको लागि पूर्वप्रधानाध्यापक गुप्ताले विद्यालयको नाममा रहेको खातामा जिल्ला शिक्षा कार्यालयबाट रकम हाल्न लगाई आफ्नै नाममा चेक काटेर रकम निकालेर सम्पर्कविहीन भएको प्रधानाध्यापक कापरको भनाई छ।

 

रकम लिएर फरार रहेका पूर्वप्रधानाध्यक गुप्ता दुई वर्षअघि गत २०७४ साल कार्तिक २८ गतेदेखि नै विद्यालयबाट विदा लिएर गएकोमा हालसम्म पनि सम्पर्कमा नआएको कापरको भनाइ छ।

‘२०७४ सालमै विद्यालयको खातामा भएको रकम निकाल्नको लागि व्यवस्थापन समितिबाट गुप्ताले निर्णइ गराए’, प्रधानाध्यापक कापरले भने,‘पछि मसँग पनि चेकमा सहि गराएर रकम निकालेपछि पैसा लिएर सम्पर्कविहिन भए।’

विद्यालयमा कक्षा कोठाको अभाव भएको थप कक्षा कोठा निर्माण गर्नको लागि आएको रकम नै विद्यालयका पूर्वप्रधानाध्यापकले लिएर फरा हुँदा विद्यालयमा कक्षा कोठाको अभाव रहेको प्रअ कापरले बताए।

‘विद्यालयमा कक्षा कोठाको अभाव भएकोले कक्षा कोठा निर्माणको लागि पूर्वप्रअ गुप्ताले रकम निकालेपछि केी ईटा, बालुवा खसाउन लगाएका थिए’, कापरले भने,‘५०/६० हजार जतिको ईटा बालुवा झारेर अरु रकम लिएर हालसम्म पनि सम्पर्क विहिन छन्।’

एउटै कोठामा दुईवटा कक्षा सञ्‍चालन


कक्षा ८ सम्म पढाई हुने उक्र विद्यालयमा कक्षा कोठाको अभावमा एउटै कोठामा दुई वटा कक्षा सञ्चालन गराउँदै आएको प्रधानाध्यापक कापरले बताए।

उक्त सामुदायिक विद्यालयमा करिब ५ सयको हाराहारीमा विधार्थीहरुको संख्या रहेकोमा ७ वटा कक्षा कोठा मात्र रहेको जानकारी दिए।

विद्यार्थीहरुको संख्या धेरै कक्षा कोठा कम भएकोले एउटै कोठामा दुई वटा कक्षाहरु सञ्चालन गराउँदै आएको प्रअ कापरको भनाई छ।‘विद्यालयमा कक्षा कोठाको कमी छ करिब ५ सय जति विद्यार्थी छन्’, कापरले भने,‘विद्यार्थीहरुको चाप र कक्षाकोठाको कमीका कारण एउटै कोठामा दुई वटा कक्षाहरु सञ्चालन गर्दै आएका छौँ।’

ईसिडी १ र कक्षा १, कक्षा २ र ३ तथा कक्षा ४ र ५ गाभेर एउटै कोठामा पढाउँदैै आएको प्रअ कापरले बताए। विद्यालयमा कक्षा कोठाको कमी रहेका कारण बाध्य भएर एउटै कोठामा २ वटा कक्षा सञ्चालन गर्दै आउनु परेको कापरले गुनासो गरे।

उजुरी दिँदा पनि कारवाही भएन


विद्यालयमा कक्षा कोठा निर्माण गर्नको लागि आएको रकम लिएर पूर्वप्रधानाध्यापक गुप्ता सम्पर्कविहीन भएपछि प्रधानाध्यापक बनेका हालका प्रअ सचिन्द्र कापरले गुप्ता विरुद्ध तत्कालिन जिल्ला शिक्षा कार्यालय पर्सामा लिखित उजुरी दिएको भएपनि कारबाही नभएको गुनासो गरे।

उनले जिल्ला शिक्षासँगै वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखामा पनि लिखित रुपमै उजुरी दिएकोे भएपनि महानगरको शिक्षा शाखाले पनि कुनै सुनुवाई नगरेको बताए। ‘विद्यालयको रकम लिएर पूर्वप्रअ सम्पर्कविहीन भएपछि जिल्ला शिक्षा कार्यालय र महानगरको शिक्षा शाखामा पनि लिखित रुपमै उजुरी दिएँ’, कापरले भने,‘तर अहिलेसम्म पनि कारवाही भएको छैन।’

महानगरका मेयर भन्छन्-‘कारवाही हुन्छ’


शिक्षकले रकम लिएर फरार भएको बिषयमा वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले रकम फिर्ता गराउने तथा यस सम्बन्धी आवश्यक पहल गर्ने बताए।

उनले दुई वर्ष अघिको कुरा भएकोले एक पल्ट सम्बन्धित विद्यालय समिति र प्रधानाध्यापक महानगरपालिकामा आएर सम्पर्क गर्न अनुरोध गरे। यता वीरगञ्ज महानगरपालिकाका शिक्षा शाखाका अधिकृत अरविन्द लाल कर्णसँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्