‘यौनको बार्गेनिङ गरिरहेको टुलुटुलु हेर्दिन, प्रहरीले बदमासी गरे कारबाही गर्न मेरा हात काँप्ने छैनन्’

‘यौनको बार्गेनिङ गरिरहेको टुलुटुलु हेर्दिन, प्रहरीले बदमासी गरे कारबाही गर्न मेरा हात काँप्ने छैनन्’

वरिष्ठ प्रहरी उपरीक्षक–एसएसपी उत्तम सुवेदीले काठमाडौंको प्रहरी प्रमुख सम्हालेको दुइ साता पूरा हुन लाग्यो। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताबाट सोझै राजधानीको सुरक्षा हाँक्ने जिम्मेवारीमा सरुवा भएका सुवेदीले पदभार सम्हालेकै दिनदेखि राजधानीलाई राजधानीजस्तो बनाउन आफू लाग्ने बताइहेका छन्। समुदाय–प्रहरी साझेदारीबाट राजधानीलाई सभ्य, शान्त र सुरक्षित बनाउने उनको योजना छ। सुवेदीले काठमाडौंको नेतृत्व सुरु गरेयता रत्नपार्क, नयाँ बसपार्क लगायत क्षेत्रबाट दिनहुँ प्रहरीले यौनजन्यलगायत क्रियाकलापमा संलग्न भएको आरोपमा युवायुवतीलाई उठाइरहेको छ। यसबाट उनले मिश्रित प्रतिक्रिया पाइरहेका छन्। काठमाडौंका नयाँ प्रमुखले केटाकेटीलाई उठाएर चर्चा कमाउन खोज्ने विगतको प्रचलनलाई सुवेदीले पनि निरन्तरता दिएको भनि आलोचना पनि भइरहेको छ। यसैको सेरोफेरोमा रहेर देशसञ्चारका लोकेन्द्र प्रसाईँले एसएसपी सुवेदीसँग कुराकानी गरेका छन्।

१. काठमाडौंको सुरक्षा स्थिति नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको रुपमा देखेको राजधानीकोभन्दा कति फरक रहेछ?
मैले नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताका रुपमा काम गरिरहँदा विभिन्न कारणले राजधानीसँग पनि जोडिरहेको थिएँ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम होस् या यहाँका गतिविधिहरुबारे सुुसुचित गर्नुपर्ने जिम्मेवारी, म काठमाडौंबाट त्यति टाढा थिइन। त्यसैले प्रवक्ताका रुपमा देखेको काठमाडौं र अहिले भोगिरहेको काठमाडौंमा खासै फरक देखिन। मैले यसअघि पनि काठमाडौं प्रहरी परिसर, अपराध महाशाखा, कालिमाटी वृत र विमानस्थल सुरक्षामा बसेर लगभग ८ वर्ष बिताएको अनुभव छ। यसबीचमा अपराधको प्रकृति र प्रवृतीमा फरक आएको छ। पहिले लुटपाट, गुन्डागर्दी, संगठित अपराध, अपहरणका घटना धेरै हुन्थे। अहिले यो धेरै नियन्त्रण भइसकेको छ। अहिले सामाजिक विकृतिका घटना धेरै भएका छन्। मैले जिम्मेवारी सम्हालेयता २० भन्दा बढी समुदाय–प्रहरी साझेदारी कार्यक्रममा सहभागी भइसकेको छु। त्यहाँ मैले स्थानीयका गुनासाहरु, चाहनाहरु सुन्दै छु। काठमाडौं के चाहँदो रहेछ भनेर जनस्तरमै पुगेर सुनिरहेको छु।

विज्ञापन

२.के चाहेका रहेछन् त काठमाडौंका जनताले?
– उहाँहरुको एउटै चाहना छ– शान्त, सभ्य र सुरक्षित समाज । बढ्दो सामाजिक विकृतिदेखि उहाँहरु चिन्तित हुनुहुन्छ। सामाजिक सन्जालको दुरुपयोग, बढ्दो लागु औषध दुर्व्यसनी र सन्तानको उच्च महत्वाकांक्षाका कारण धेरै अभिभावक चिन्तित हुनुहुन्छ। सामाजिक सञ्जालको विकृति त घरघरको समस्या भइसकेको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट यी समस्याको समाधान खोजिने छ। स्थानीय निकायका प्रतिनिधि र अभिभावकहरु प्रहरीसँगसँगै हुनेछन्।

३. टोले गुन्डालाई नियन्त्रण गर्ने, सेवाग्राही मैत्री प्रहरी कार्यालय बनाउने लगायत आफ्ना योजना सुनाउनुभएको थियो। तपाईँ काठमाडौं प्रमुख भएर आएको केही दिनमै प्रहरीले फेरि होटलमा बसेका युवायुवतीलाई उठाउन थाल्यो, यौनजन्य क्रियाकलाप नियन्त्रण गर्ने नाममा चर्चित हुन खोज्यो भनेर आलोचना सुरु भएको छ नि?

– हामीले होटलमा गएर कुनै जोडीलाई समातेको छैन। यसको प्रकृयासमेत सुरु भएको छैन। कसैलाई अनावश्यक हैरानी दिने हाम्रो नियत पनि छैन। तर सार्वजनिक स्थानलाई सभ्य बनाउने अभियान भने सुरु भइसकेको छ। रत्नपार्क, नयाँ बसपार्क, पुरानो बसपार्क लगायत ठाउँमा साँझ परेपछि आफन्तसँग हिँड्न पनि लाजमर्दो हुन्छ। खुलेहाम यौनजन्य क्रियाकलापका लागि बार्गेनिङ भइरहेको देखिन्छ। लाजैमर्दो देखिने गतिविधि त प्रहरीले टुलुटुलु हेरेर बस्न सक्दैन नि। हाम्रा सडक र चोकहरुलाई सभ्य बनाउने प्रकृया सुरु भइसकेको छ र यो निरन्तर चलिरहन्छ। हामी सुरुमा अभिभावकसमेतलाई बोलाएर सम्झाउँछौ तर दोहोरिए कानुनी कारबाही अगाडि बढाउँछौं। टोले गुन्डाहरुका हकमा पनि त्यही नै हो। उनिहरुलाई हामी सुरुमा सम्झाउँछौं। घटना दोहोरिए कानुनी कारबाहीको दायरामा ल्याउँछौं।

४. राजधानीमा रात्रिकालीन व्यवसायको सुरक्षा चुनौती कस्तो छ? 
–  रात्रिकालीन व्यवशायलाई पूरा समय सन्चालन गर्न दिन मैले मात्र चाहेर हुँदैन। यसमा सरोकारवाला निकाय सबै मिलेर अगाडि बढ्नुपर्छ, विशेष गरी व्यवसायीहरु। सुरक्षा जोखिमलाई न्यूनीकरण गर्ने सबै मापदन्ड उहाँहरुले पूरा गरेको अवस्थामा रात्रिकालीन व्यवशायलाई रातभर सञ्चालन गर्न दिन गाह्रो विषय होइन। तर व्यवशायीहरु नै यस्ता विषयमा संवेदनशील भएको देखिँदैन। धेरै व्यवशायीहरुले आवश्यक त्यस्ता मापदन्ड पुरा गरेको देखिँदैन।

५.तपाईको पालामा काठमाडौंले के एक्स्ट्रा महसुस गर्ने छ?

– नेपाल पुलिसको समग्र काम भनेको देशमा शान्ति सुरक्षा कायम गर्ने हो। यसका लागि संविधान र कानुनले अधिकार र जिम्मेवारीहरु तोकिदिएको छ। यही अधिनमा रहेर काम गर्दा कसरी एक्स्ट्रा काम हुन्छ? समुदायसँग मिलेर सभ्य, शान्त र सुरक्षित समाज निर्माण गर्नु नै मेरो प्रयत्न हुने छ। मैले जहाँजहाँ काम गरेँ, समुदायसँग मिलेर काम गरेँ। त्यसैले मैले काम गरेका ठाउँका जनताले मलाई सम्झने गर्छन्।

६‍. प्रहरी पछिल्लो समय लगातार विवादमा आईरहेको छ। राजधानीको प्रमुखका रुपमा  यस्तो अवस्थामा जनताको विश्वास जितेर काम गर्न तपाई र तपाईको टिमलाई कत्तिको चुनौतीपुर्ण छ? 

-राजधानीको प्रहरी धेरै प्रोफेसनल छ। यहाँको पुलिसले निकै प्रेसरमा काम गर्नुपर्ने हुन्छ। यहाँको पुलिसको यही अनुभव  र व्यवशायीकतालाई सदुपयोग गर्दै मेरा जवान र अधिकृतको मनोबल उच्च बनाउनु छु। अहिलेको राजधानीको पुलिसको ३० प्रतिशतभन्दा बढी जनशक्तीसँग मैले कुनै न कुनै ठाउँमा काम गरेको छु। उनिहरुलाई मैले चिनेको छु। उनिहरुले मलाई चिनेका छन्। त्यसैले कुनै प्रहरीले गैह्र व्यवशायीक काम गर्छ भने प्रहरीले नै मलाई भन्छन्। सुचना तुरुन्तै आइहाल्छ। समुदाय पनि सँगसँगै हुने भएकाले जनता र स्थानीय प्रतिनिधीले खबर गर्छन्। त्यसैले मलाई लाग्छ- अब कुनै प्रहरीले बदमासी गर्छु भनेर नसोचे हुन्छ। बदमासी गर्नेलाई कारबाही गर्न मेरा हात काप्दैनन्।

 

भिडियो हेर्नुहोस्:

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू