खेलाडिले मुख्यमन्त्री कप खेलकुदको पुरस्कार साढे दुई महिनासम्म पनि पाएनन्

मोरङ-प्रदेश-७ को धनगढीमा सम्पन्‍न प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता–२०७५ मा सहभागी विजेता टोलीले नगद पुरस्कार अझै पाउन सकेका छैनन्।

गतवर्ष फाल्गुन २९ गतेदेखि चैत्र ३ गतेसम्म आयोजित खेलकुद प्रतियोगितामा प्रदेश नम्बर एक समग्रमा दोश्रो स्थानमा रहेको थियो।

विज्ञापन

सो क्रममा प्रदेश एकले ८ लाख रुपैयाँ नगद र ट्रफी हात पारेको थियो। प्रतियोगिता सम्पन्न भएको करिब अढाई महिना बितिसक्दा समेत पुरस्कृत रकम नपाउँदा खेलाडी तथा अफिसियल निरास बनेका छन्।

प्रतियोगितामा सहभागिता जनाएका कतिपय खेलाडी विदेशियका छन् भने कतिपय खेलाडी रकम पाउने कि नपाउने भन्ने विषयमा अन्योलमा रहेका छन्।

प्रदेश एकको फुटबल टोलीको व्यवस्थापकका रुपमा खेलकुदमा सहभागी सुजय गौतम पनि रकम अझै नपाएको गुनासो गर्छन्। खेलाडीलाई हौसला दिनुको सट्टा प्रादेशिक सरकारको ढिलासुस्तीको मर्कामा सबै परेको उनको भनाइ छ।

जिल्ला खेलकुद विकास समिति मोरङका कोषाध्यक्ष समेत रहेका गौतम भन्छन्, ‘त्यही समयमा ८ लाखको नमुना चेक प्रदान गरियो र बाँकी रकम प्रदेशको समाजिक विकास मन्त्रालयले पठाउने जनाएको थियो। तर अझै रकम हात लाग्न सकेको छैन।’

सो खेलकुदमा प्रदेश एक दोश्रो भएको थियो। दोश्रो हुँदा हात पारेको ८ लाख रुपैयाँमा कर काटेर करिब ६ लाख पाउने आशा खेलाडीहरुमा रहेको थियो। तथापि प्रदेश–७ सरकार समाजिक विकास मन्त्रालयले त्यसमा ४ लाख रुपैयाँ थप गरी प्रदेश एकको समाजिक विकास मन्त्रालयमा पठाउने जनाएको व्यवस्थापक गौतमको भनाइ छ। उनी भन्छन्, ‘केही दिनअघि समाजिक मन्त्री जीवन घिमिरेलाई यस विषयमा जानकारी गराइएको थिए। उहाँले बुझ्छु भन्नु भएको थियो। सायद अब केही दिनमा काम फत्ते होला कि?’

खेलकुदमा दोश्रो हुँदाको सानो रकमले समेत आफूहरुलाई धेरै अर्थ राख्ने फुटबलका खेलाडी देबु राई बताउँछन्। हाल भारतमा ६ साताको खेलकुद कोर्ष गरिरहेका राईले उदयपुरबाट फुटबलमा सहभागिता जनाएका थिए।

उनीसंगै उदयपुरबाट टिप्सन राई, मोरङबाट बिदुर रिजाल, एनएस मगर लगायत रहेका थिए। क्रिकेटबाट सहभागिता जनाएका एक खेलाडीले रकम उपलब्ध गराउन खेलकुदका पदाधिकारी, क्षेत्र, जिल्लाको पहल हुन नसकेको बताए। ‘यहाँ राजनीति हावी हुन्छ, अन्तिम समयमा खेलाडी चयन हुन्छ त्यसैले जस्तो जे गरेपनि हुने संरचनाकै कारण हामी खेलाडीहरुले अझैपनि सो रकम पाउन सकेको छैनौं,अझै।’ उनले दुखेसो गरे। राजनीति हाबी हुँदा आफ्नो नजिकका व्यक्तिलाई टिपेर लैजाने कारण फुटबलमा प्रभाव पर्ने गरेको एक प्रशिक्षक बताउँछन्।

सो खेलकुद प्रतियोगितामा प्रदेश एकबाट फुटबल, भलिबल, क्रिकेटबाट महिला पुरुषको टोली, व्याडमिन्टनका खेलाडी र अफिसियलसहित ९२ जनाको सहभागिता रहेको थियो। त्यसैगरि, प्रतियोगितामा सात प्रदेशबाट खेलाडीले स्पर्धा गरेका थिए।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्