साहित्यकार रविकीरण निर्जीवलाई गण्डकी वाङमय पुरस्कार

पोखरा– वरिष्ठ साहित्यकार रबिकिरण निर्जीवलाई गोकुल जयन्तीको अवसरमा ‘गण्डकी साहित्य संगम’ पोखराद्वारा हरेक दुई–दुई वर्षमा प्रदान गरिने राष्ट्रिय स्तरको पुरस्कार ‘गण्डकी वाङ्मय पुरस्कार’ बाट सम्मानित गरिएको छ।

१५ हजार नगद र सम्मानपत्र सहितको उक्त पुरस्कार गण्डकी प्रदेशका अग्रज साहित्यकारहरूबीच बुधबार पोखरामा भएको एक कार्यक्रमकाबीच प्रदान गरिएको हो।

कार्यक्रमको अध्यक्षता ‘गण्डकी साहित्य संगम’ का सभापति डा. कृष्णराज अधिकारीले गरेका थिए। सम्मान गरिएका लेखकको कृतित्व र व्यक्तित्वका बारेमा श्रष्टा रामराज रेग्मीले प्रकाश पारेका थिए।

वि.सं. २००३ सालमा लम्जुङको अलैचेमा जन्मेका साहित्यकार रबिकिरण निर्जीबको पहिलो कृति ‘नवजीवनको फूलवारी’ २०२३ सालमा प्रकाशित भएको थियो। उनका हालसम्म ११ वटा साहित्यिक कृतिहरू प्रकाशित भैसकेका छन् भने ६ वटा कृतिहरू प्रकाशोन्मुख अवस्थामा छन्।

व्यङ्ग्य निबन्ध लेखनमा रुचि राख्ने साहित्यकार रबिकिरण निर्जीब राष्ट्रिय स्तरको पुरस्कारहरू ‘अस्वीकृत विचार साहित्य पुरस्कार –२०६१’, शहीद शिव पौडेल स्मृति पुरस्कार –२०६५ लगायत विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित भइसकेका छन्।

निवृत्त शिक्षकको रूपमा भरतपुर महानगरपालिका–१२ को मुनालचोकमा स्थायी बसोबास गरिरहेका निर्जीबले प्रधानाध्यापक रूपमा नेपालका विभिन्न जिल्लाहरू जुम्ला, हुम्ला, धादिङ, नुवाकोट, लम्जुङ र चितवनका माध्यमिक स्कुलहरूमा अध्यापन गरेका छन्।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्