लागु औषधले ध्वस्त एक परिवार : आमा बेच्ने, छोराहरु किन्ने

काठमाडौं- हुर्कँदै गरेका दुई छोरा अनि सरकारी जागिरे श्रीमान। काठमाडौंको कोटेश्वरकी सावित्री श्रेष्ठलाई कुनै कुराको अभाव महसुस हुन्थ्यो भने त्यो पैसा थियो। २०६२/६३ तिर लागु औषध कारोबारीको सम्पर्कमा पुगेकी सावित्रालाई लाग्यो- आहा ! पैसा कमाउने यो त गज्जबको तरिका रहेछ।

भारतबाट फर्मास्युटिकल्स ड्रग्स मगाएर बेच्न थालिन्। दिनदिनै उनको आम्दानी बढ्दै गयो। पैसाको लोभले उनी खुंखार कारोबारी भईसकेको पत्तै पाइनन्। आमाले लागु औषधको कारबार गर्छिन् भन्ने दुवै छोरालाई थाहा भयो। संगत पनि उस्तै, दुवै जना दुर्व्यसनी भए। आमाले लुकाएर राखेको ड्रग्स सेवन गर्न थाले।   ६५/६६ सालदेखि सावित्राका दुवै (सन्तान) छोराहरु लागु औषध सेवनमा लागिसकेका थिए।

विज्ञापन

कोटेश्वरको आफ्नो तीन तलाको घरमा सावित्राको परिवारका चार वटा भान्सा छन्। दुवै छोरा बुहारीका बेग्लाबेग्लै भान्सा छन्। सेवा निवृत भईसकेका सावित्राका श्रीमानले एक्लै भान्सा गर्न थालेको ५/६ वर्ष भईसक्यो। परिवारमा कसैको वास्ता नगर्ने सावित्रा पनि एउटै घरमा भएर पनि एक्लै बस्न र भान्सा गर्न थालेको वर्षौँ भयो।

कोटेश्वरमै रहेको लागु औषध नियन्त्रण ब्युरोले करिब तीन महिनाको मिहेनतपछि उनै सावित्रालाई फर्मास्युटिकल्स ड्रग्सको ठुलो परिमाणसहित पक्राउ गर्न सफल भएको छ। ‘यो अनौठो घटना हो। आमा अवैध धन्धामा लागिरहँदा छोराहरु बिग्रिएको पत्तै पाइनन्। आज परिवार नै ध्वस्त भईसकेको छ’,  लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत डीएसपी कृष्ण पनेरुले भने।

श्रीमतीको व्यवहार र कारोबारका कारण सावित्राका श्रीमान बेग्लै बस्दै आएको जनाइएको छ।

 

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्