पाँचथर हत्‍या प्रकरणबारे बुझ्‍न कांग्रेसले पठायो तीन सदस्य टोली

फाइल तस्विर

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ मा आरुबोटेमा नौ जनाको सामूहिक हत्या भएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेको छ ।

सोमबार राति मिक्लाजुङमा एउटै व्यक्तिले दुई परिवारका नौ जनाको हत्या गरी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुले पनि घटनाको विस्तृत अनुसन्धान गर्न कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार घटनाको सत्य तथ्य बुझ्न कांग्रेसले तीन सदस्यीय प्रतिनिधि पठाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य भिष्मराज आङ्दम्वे र पाँचथर सभापति नरेन्द्र केरुङ लिम्बूलाई पार्टीको प्रतिनिधित्व गर्दै घटनास्थल पुगेको पौडेलले जानकारी दिए ।

‘ नेपाली कांग्रेस यो रहस्यमय घटनाको गहिरो र गम्भीर छानविन गर्न सरकार समक्ष अपिल गर्दै मृतक सबैको आत्माको चिर शान्तिको कामना गर्दछ, कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्