१८ वर्षिया युवतीमाथि सामूहिक बलात्कार, एक पक्राउ, एक फरार

साङ्केतिक तस्बिर।

वीरगञ्ज– बाराको परवानीपुर गाउँपालिकामा मानसिक अवस्था ठिक नभएकी एक युवती सामुहिक बालात्कारको शिकार भएकी छन्।

परवानीपुर गाउँपालिकाको बुनिँयाद टोलमा गत सोमबार मानसिक अवस्था ठिक नभएकी १८ वर्षिया युवतीलाई सोही टोलका दुई जनाले सामूहिक बालात्कार गरेको प्रहरीले जनाएको छ।

सोमबार राति गाउँमै युवतीलाई बलात्कार गरेका अभियोगमा स्थानीय ३० बर्षीय राम अयोध्या मण्डललाई प्रहरीले पक्राउ गरेको छ। यस्तै बालात्कार संलग्न भनिएका अन्दाजी १२/१३ बर्षका नाबालक भने फरार रहेको प्रहरीको भनाई छ।

सोमबार राति गाउँमै उनीहरुले मानसिक अवस्था ठिक नभएकी युवतीलाई बलात्कार गरिरहेको अवस्था स्थानीयले देखेपछि युवतीको उद्धार गरेका थिए। स्थानीयले बालात्कारमा संलग्न भएका मण्डललाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए।

पक्राउ परेका मण्डललाई अहिले प्रहरी हिरासतमा राखी अनुसन्धान प्रक्रिया अघि बढाइएको बाराका प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।

बलात्कारमा संलग्न भनिएका नाबालक फरार रहेको र उनको खोजी कार्य भईरहेको राठौरले जानकारी दिए। ‘बलात्कारमा संलग्न दुई जना मध्ये मण्डललाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएका छौँ’, राठौरले भने ,‘अर्का अभियुक्त  १२/१३ बर्षका नाबालक फरार छन्। उनलाई खोज्दैछौँ।’

युवतीलाई कलैया अस्पतालमा मेडिकल चेकजाँच गराइएको र उनलाई अहिले मानव सेवा आश्रम वीरगञ्जमा राखिएको प्रहरी नायब उपरिक्षक राठौरले जानकारी दिए।

युवतीको मानसिक अवस्था ठिक नभएका कारण उनी आफनो बारेमा केही पनि बताउन सक्ने अवस्थामा नरहेको प्रहरीको भनाई छ।

जेठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्