विदेशमा साम्बाको सफल उडान, सेथु बन्यो इन्डियन वुमन्स लिग च्याम्पियन

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भन्डारी ‘साम्बा’को प्रेरणादायी प्रदर्शनमा सेथु एफसीले इन्डियन वुमन्स लिग फुटबलको उपाधि जितेको छ।

बुधबार साँझ भएको फाइनलमा सेथुले मणिपुर पुलिस स्पोर्टसलाई ३-१ गोलले हरायो। साम्बाले दुई गोल गरिन्। प्रतियोगितामा साम्बाले कुल १५ गोल गरिन्। फाइनलमा सुरुवाती अग्रता लिन असफल भएको सेथु साम्बाकै प्रेरणामा दोस्रो हाफमा पुनरागमन गर्न सफल भएको थियो।

४४औँ मिनेटमा राधारानी देवीले गोल गर्दै मणिपुर पुलिस  लाई अग्रता दिलाएकी थिइन्। ५६औँ मिनेटमा मणिपुरकी उमापति देवीले आत्मघाती गोल गरेपछि सेथु बराबरीमा पुगेको थियो।

साम्बाले ६१औँ मिनेटमा गोल गर्दै सेथुलाई अग्रता दिलाइन्। ७० औँ मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि सेथु उपाधि नजिक पुगेको थियो। साम्बासहित दुई नेपाली महिला खेलाडीले यो प्रतियोगिता खेलेका थिए। यसअघि कुनैपनि नेपाली महिला फुटबल खेलाडीले विदेशमा ब्यावशायीक फुटबल खेलेका थिएनन्।

प्रतियोगितामा साम्बाले तीनवटा ह्याट्रिक गरेकी थिइन्। स्ट्राइकर भण्डारी भारु ८५ हजार र मिडफिल्डर अनिता बस्नेत भारु ६५ हजारमा सेथु फुटबल क्लबबाट अनुबन्धित भएका थिए। सावित्रा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि घोषित भइन्।

 

जेष्ठ ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू