पानी चिसो बनाउने ‘गाउँले फ्रिज’

दाङ – गर्मीले तातिएको मौसम । जहाँ टेके पनि, जहाँ छोए पनि पोल्ने । चिसो पानीको तल तल लागिरहने । शहर–बजारमा त फ्रिजको पानी घट–घट पिउन पाइन्छ । तर, गाउँमा कसरी चिसो पानी खान सकिएला ?

गर्मीमा पानीलाई चिसो राखिरहन बोत्तललाई लुगा लगाईदिएको उदाहरण भेटिएको छ । घोराही उपमहानगरपालिका वडा नं. २ चाकलिघाट गाउँमा विद्युत पुगेको छैन । जसले गर्दा गाउँमा फ्रिज हुने कुरै भएन ।

यहाँका नागरिकले पानीलाई चिसो राखिरहन पानीको बोत्तललाई कपडा वा जुटको बोराले बाहिरबाट छोपिने गरि ढाक्ने गरिएको पाइएको छ । पानी सोस्ने कपडा वा जुटको बुरालाई पानीले भिजाई राख्दा बोत्तल भित्रको पानीलाई तात्न नदिने भएकाले यस्तो उपाय अपनाइएको स्थानीय टोपबहादुर डाँगीले बताए ।

‘बिजुली छैन् । गर्मीले पानी तातिएर खानै सकिँदैन् । त्यही भएर हामीले यसलाई गाउँले फ्रिज नाम दिएका छौँ । पानी पनि तात्न दिँदैन् । चिसो भैरहन्छ । फ्रिजको पानी खाँदा बिरामी परिएला तर, यसरी राखिएको पानी खाँदा बिरामी भर्इँदैन्’ उनले भने, ‘गर्मीभरि गाउँले फ्रिज हाम्रो साथी हो । विद्यालय आउदा पानी भरेर ल्याउने गर्छु ।’

यसरी पानीलाई चिसो राखिराख्ने उपाय अनुकलनको राम्रो उदाहरण भएको प्रदेश सभा सदस्य रेवतीरमण शर्माले बताए । ‘जस्तो मौसम छ । त्यही अनुसारका हाम्रा क्रियाकलपा हुन्छन् । घाम लाग्दा, पानी पर्दा छाता ओढ्ने, पानीलाई चिसो राख्न घरेलु विधि अपनाउने यी सबै अनुकलनका उपाय हुन्’ शर्माले भने, ‘घरेलु उपायलाई प्रोत्साहन गर्नुपर्छ ।’

जेष्ठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्