दाङ – दुई पटक भएको संविधासभाको निर्वाचनमा जितेका उम्मेदवारले गाउँ नै टेकेनन् । गाउँलेले मतदान गरेर विजयी बनाउने तर, फर्केर नहेर्ने अवस्था थियो ।

फेरिएको संरचना अनुसार स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भयो । निर्वाचित जनप्रतिनिधि गाउँमा पुगेर जनता संग सुख्द, दुःख साट्ने काममा सहभागी हुन थालेका छन् । विकासमा पछाडि परेको चाकलिघाट गाउँमा निर्वाचित प्रदेशसभा सदस्य रेवतीरमण शर्मा पुग्दा गाउँलेहरु दंग मात्रै परेनन्, आफ्ना पीडाहरु सुनाए ।

‘भोट गर्ने, जीताउने मात्रै काम हुँदै आएको थियो । आफूले जीताएका सांसद शहरमा बस्ने गाउँ नफर्के समस्या थियो । तर, हाम्रो गाउँमा पहिलो पटक माननीय सांसद आउँदा हामी हर्ष विभोर छौँ । अब हाम्रो गाउँमा मोटर बाटो बन्ने छ, बिजुली आउने छ । खानेपानी आउने आशामा छौँ’ घोराही उपमहानगरपालिका वडा नं. २ ज्यामिरेपाटा निवासी जसबहादुर पुनले भने, ‘चुनावमा भोट माग्न पनि आउनुभयो । अहिले जेठ मासको गर्मी नभनेर हामी माझ आउनु भएकोमा हामी खुशी छौँ । अब विकास हुनुपर्‍यो ।’

गाउँसम्म पुग्ने राम्रो बाटो छैन् । बेल्दमारबाट अर्जुन खोलाको तिरैतिर करिब आठ किलोमिटरको दूरीमा चाकलिघाट गाउँ पर्छ । यस्तै रामपुरबाट त्यही आठ किलोमिटरको दुरीमा गाउँ पुग्न सकिन्छ । तर, भरपर्दाे बाटो छैन् । रामपुरबाट ढुंगाहान्ने सम्म पुग्ने सडकको ट्रयाक खोलिएको छ । हिउँदमा खोलाको बाटो हुँदै हप्तामा दुई दिन बस चल्छ । तर, बारै मास गाडी चल्ने सडक छैन् । ‘बिजुली बत्ति छैन् । टुक्कीको साहारामा बस्नु परेको छ । फोन लाग्दैन् । अर्कै दुनीयामा छौँ, की जस्तो लाग्छ’ स्थानीय मुमबहादुर बुढाले भने, ‘हामीलाई बाटो, बिजुली बत्ति र खानेपानी चाहीयो । आधारभुत आवश्यकताबाटै वञ्चित हुनु परेको छ ।’

चाकलिघाट, ढुंगाहाने, खुरुल्ले, ज्यामिरेपाटामा करिब एक सय ४० घरधुरीको बसोबास छ । भुगोलको हिसावले देउखुरी पायक पर्छ । तर, प्रशासनिक काम घोराही उपमहानगरपालिकासँग जोडिएको छ । यो बस्ती घोराही उपमहानगरपालिका वडा नम्बर २ अर्जुन खोलाको किनारमा छ ।

यही गाउँमा चुनाव जितेर सांसद आएको पहिलो रेकर्ड भएको भन्दै भव्य स्वागत गरिएको छ । चुनावको क्रममा भोट माग्न पनि पहिलोपटक सांसद शर्मा पुगे र जितेर पनि गाउँ फर्किएको खुशियालीमा गाउँलेहरुले स्वागत सँगै गाउँको विकासमा प्राथमिकता राख्न आग्रह गरेका छन् ।

कार्यक्रममा सांसद शर्माले अब विकास हुने कुरामा कुनै दुविधा नरहेको तर, विकासको उपभोग गर्ने क्षमता विकासमा ध्यान दिनेगरी कार्यक्रम बनाउनु पर्ने बताए । ‘अब त विकास हुन्छ हुन्छ । कसैले रोक्न खोज्छ भने त्यो आफै समाप्त हुन्छ तर, विकास रोकिदैन्’ शर्माले भने, ‘विकास भएर मात्रै हुदैन विकास उपभोग गर्ने जनताको जीवनस्तर बढ्नु पर्छ । त्यही भएर आम्दानी बढाउने काममा संलग्न हुनुपर्छ । पुरुषले मात्रै कमाउने होइन, अव महिला पनि आय आर्जनको क्षेत्रमा अघि बढ्नुपर्छ ।’

अखण्ड टोल विकास संस्थाका अध्यक्ष झविन्द्र पुनको अध्यक्षता एवम् प्रदेशसभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि घोराही उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष केशव आचार्यले विकट बस्ती स्थानीय सरकारको पहिलो प्राथमिकता भित्र परेको बताए ।

कार्यक्रममा नेकपाका जिल्ला सदस्य ओमप्रसाद सुवेदी, लमही खानेपानी उपभोक्ता संस्थाका सचिव सनमकुमार पौडेल, स्थानीय जसबहादुर पुन लगायतले मन्तव्य व्यक्त गरे ।

जेठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्