प्रदेश-५ को राजधानी र नामाकरण एक वर्ष भित्रै टुंगिने

बुटवल-प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी र नामाकरणको टुंगो एक वर्ष भित्रै लगाउने भएको छ।

सरकारका तर्फबाट प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सभामा पेश गरेको नीति कार्यक्रमले आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेशको स्थायी राजधानी र नामाकरणको टुंगो लगाउने उल्लेख छ।

नीति कार्यक्रममा उल्लेख भएअनुसार चालु आर्थिक वर्षभित्रै प्रदेश सभाको भवनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिनेछ।

प्रदेश सभा, प्रदेश सभा सचिवालय, विषयगत समितिका सचिवालय र संसदीय दलका सचिवालय परिसरलाई विद्युतीय निगरानी प्रणालीमा आवद्ध गर्ने योजना सरकारले बनाएको छ।

प्रदेश सभालाई सूचनामैत्री बनाउँदै सञ्चार माध्यमसँगको सहकार्यमा प्रदेश सभा बैठकको प्रत्यक्ष प्रशारण गर्ने योजना पनि नीति कार्यक्रममा उल्लेख छ।

प्रदेश सभा सचिवालयमा स्थापित संवाद केन्द्र र पूस्तकालयलाई स्तरोन्नति गर्दै इलाईब्रेरीको रुपमा विकास गर्ने योजना सरकारको छ।

सरकारले संघीय लोकतान्त्रिक प्रणालीलाई संस्थागत गर्दै दिगो बनाउन शासकीय प्रणाली तथा नागरिकका अधिकार, सकारात्मक सोंच र कर्तव्यको बारेमा जनचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमसँग सहकार्य गरी नागरिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।

जेष्ठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्