योजना पार्न मन्त्रालय धाउनेको ओइरो

धनगढी– आगामी बर्षको नीति तथा कार्यक्रम निर्माण गर्न प्रदेश सरकार व्यस्त रहेका वेला आफ्ना पक्षमा योजना पार्न मन्त्रालय धाउनेको ओइरो लाग्न थालेको छ।

प्रदेश सरकारले यही जेठ १५ गते भित्र सबै मन्त्रालयको बजेट तथा कार्यक्रम तयार पारी अर्थमन्त्रालय समक्ष पेश गर्ने गरी काम अगाडी बढाईरहेको छ। बजेटको तयारीमा व्यस्त रहेका बेला मन्त्रीका कार्यकर्तासंगै प्रदेश सभा सदस्य भने आफ्ना योजना कार्यक्रममा पार्न मन्त्रालयमा लाईन लाग्ने गरेको पाइएको छ।

हातमा फाइल समातेर भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पुगेका कैलाली क्षेत्र नम्बर–४ का बासुदेव भाटले आफ्ना क्षेत्रमा अधुरा रहेका तथा थप योजना सरकारको नीति तथा कार्यक्रममा समावेस गरियोस् भनेर मन्त्रीको ध्यानकर्षण गराउन मन्त्रालय पुगेको बताए।

आफ्नै ठाउँको मन्त्री हुँदा केही हुन्छ की भन्ने आशा बोकेर मन्त्रालय धाएको उनले बताए। ‘चुनावका वेला घोषणा गरेका बाचा पनि पुरा हुन सकेका छैनन्’, उनले भने, ‘मन्त्री ज्यूलाई आफ्ना घोषणा पनि सम्झाउन मन्त्रालय पुगेको हुँ।’ सिंगो गाउँको प्रतिनिधित्व गर्दै आफू मन्त्रालयमा पुगेको उनले सुनाए।

योजना पार्नकै लागि भन्दै बैतडीबाट धनगढी पुगेका बिक्रम सार्कीले मन्त्रालयमा मन्त्रीलाई भेट्टाउनै मुस्किल हुने गरेको भन्दै दुःखेसो गरे। ‘घरघरमा सिंहदरवार भन्ने नारा सुन्दा शुरु–शुरुमा अब केही होला भन्ने आशा गरेका थियौं’, उनले भने, ‘तर अहिले मन्त्रालयमा मन्त्रीलाई भट्टाउनै मुस्किल छ, टाढाबाट आएका म जस्ता कार्यकर्ता आर्थिक अभावका कारण धेरै दिन कुर्न पनि सक्दैनन्।’

यस्तै योजना पार्नकै लागि बिहीवार बझाङबाट प्रदेश राजधानी धनगढी पुगेका रामप्रसाद जोशी भौतिक पुर्वाधार मन्त्रालय भेटिएका थिए। उनले भने, ‘अहिले प्रदेश सरकारले योजना छनोट गरिरहेको छ भन्ने जानकारी पाएपछि गाउँका २–४ वटा योजना ल्याएर आएको छु, मन्त्रीलाई भेटेर जानकारी गराउँछु।’ उनीहरु जस्तै योजनाका लागि हरेक मन्त्रालयमा दैनिक ठुलो संख्यामा कार्यकर्ता तथा सर्वसाधारण धाईरहेका छन्।

सरकारको आगामी नीति तथा कार्यक्रममा आफ्ना योजना पार्ने भन्दै सामाजिक विकास मन्त्रालय पुगेकी गौरीगंगा नगरपालिकाकी कुसुम चौधरी पनि मन्त्रीलाई भेट्न भन्दै लाईनमा बसेकी थिइन्। चुनावमा भोट माग्दा मन्त्रीले धेरै आश्वासन दिए पनि कार्यान्वयन हुन नसकेको भन्दै उनले मन्त्रीलाई आफ्नो ठाउँका समस्याका बारेमा जानकारी गराउँदै आगामी योजनामा पार्ने उद्देश्यले मन्त्रलाय पुगेको बताइन्। ‘प्रदेश सरकारले आर्थिक बर्ष २०७६/०७७ का लागि बजेट निर्माण गर्दैछ भन्ने सुनेपछि आफ्ना माग लिएर मन्त्रालाय आएका छौं’, उनले भनिन्,‘स्थानीय तहले हामी सक्दैनौं प्रदेश सरकामा जाऊ भन्छ, अब प्रदेश सरकारकै भर छ।’

सुदूरपश्चिम प्रदेश स्थित मन्त्रालयका कर्मचारीले भने मन्त्रीलाई कार्यकर्ताले दिएको माग र मन्त्रीले गरेको सिफारिसका आधारमा कार्यक्रम निर्माण नहुने दावी गरेका छन्। सामाजिक विकास मन्त्रलायका सचिव इन्जिनियर गोगन हमालले मन्त्री मार्फत आएका योजना सवै नसमेटिने भए पनि आवश्यकताका आधारमा केही योजनालाई भने समावेश गर्न सकिने बताए। ‘आवश्यकता सवै क्षेत्रमा हुने गर्दछन्’, सचिव हमालले भने,‘तर त्यस मध्य पनि बढी आवश्यकतालाई मध्यनजर गरेर कार्यक्रम बनाउने हो, त्यसमध्ये केही मन्त्रीका कार्यकर्ताबाट पनि समेटिन सक्छन्।’ उनले स्थानीय तहबाट माग भई आउने योजनालाई प्रदेश सरकारले बढी महत्व दिने बताए।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव गोपाल प्रसाद अर्यालले आर्थिक मापदण्डमा रहेर मन्त्रालयलाई नीति तथा कार्यक्रम निर्माण गर्न आग्रह गरिएको बताए। सबै मन्त्रालयलाई बजेट मापदण्ड सहित सिलिङ उपलब्ध गराइसकेको उनले बताए। उनले योजना छनौट गर्ने काम विषयगत मन्त्रालयले नै गर्ने भए पनि त्यसबारेमा छलफल भने पुनः गरिने बताए।

अघिल्लो आर्थिक वर्षमा विनियोजित सरकारको कार्यक्रममा रहेका त्रुटीलाई पनि समेटेर यस वर्ष योजना निर्माण गरिने सचिव अर्यालले बताए। उनले हरेक मन्त्रालयले तयार पार्ने नीति तथा कार्यक्रमका बारेमा मुख्य सचिव, विषयगत मन्त्रालयका सचिव र मन्त्रीसंगै बसेर छलफल गरिने बताए।

प्रदेशका मुख्य सचिव नारायण प्रसाद विडारीले प्रदेशको नीति तथा कार्यक्रम माथि वृहत छलफल गरी सर्वमान्य बनाउने प्रयास गरिने बताए। उनले मन्त्रालयले कार्यक्रमका बारेमा आफूले लगातार चासो लिँदै आएको भए पनि योजना तयार नभईसकेका कारण केही भन्न नसक्ने बताए। मन्त्रीका कार्यकर्ताबाट योजना माग हुनु स्वभागिक भए पनि तिनको सान्दर्भिकता र महत्वलाई ख्याल गरेर नीति तथा कार्यक्रम निर्माण गरिनु पर्नेमा उनले जोड दिए।

आर्थिक वर्ष २०७५/०७६ मा मन्त्रीकै कार्यक्षेत्रमा योजना परेको भन्दै विपक्षले चर्को आलोचना समेत गरेका वेला आगामी आर्थिक बर्षका लागि निर्माण गरिने बजेटमा पनि मन्त्रीकै नजिकका कार्यकर्ताले आफ्नो पक्षमा योजना पार्न दवाव दिने गरेको बुझिएको छ।

जेष्ठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्