दाइजाे नदिँदा मण्डपमा छाडेर हिँड्ने बेहुला पक्राउ

मोरङ– विवाह मण्डपमा दाइजो माग गर्दै बेहुली छाडेर रित्तै घर फर्किएका बेहुलालाई पाँच दिनपछि प्रहरीले पक्राउ गरेको छ।

मोरङको जहँदा गाउँपालिका ४ स्थित २४ वर्षीय लक्ष्मण राजवंशीलाई जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पक्राउ गरेको हो।

गत जेठ ४ गते मागी विवाहका क्रममा राती १ बजे दाइजो माग गर्दा बेहुली पक्षले दिन नसक्ने जनाएपछि बेहुला राजवंशी पक्ष मण्डप छाडेर हिडेका थिए। सो घटनालगत्तै पीडित बेहुली पक्षले प्रहरीमा जाहेरी दिएका थिए।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार २४ वर्षीय राजवंशी र २१ वर्षीय एक युवतीबीच मागी विवाह भइरहँदा दाईजो नदिएको भन्दै बेहुली लैजान अस्वीकार गरेर बेहुला पक्ष फर्किएको थियो।

बेहुला र बेहुली दुवै पक्षबीच कुराकानी भएर राजीखुसीका साथ जेठ ३ गते विवाह गर्ने सल्लाह बमोजिम बेहुली पक्षले बिहेको तयारी गरेको थियो। सबै तयारी पूरा गरेर बिहेको कार्यक्रम चलिरहेका वेला बेहुला राजवंशीले मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेवल दाईजो मागेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको डीएसपी श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार आर्थिक अवस्था कमजोर भएकोले माग भए बमोजिमको सामग्री दाईजो वापत दिन नसक्ने कुरा बेहुली पक्षले राखेसंगै बेहुला राजवंशीले मण्डपमै बेहुली छाडेर हिडेको देखियो।

प्रहरीद्वारा पक्राउ गरिएका बेहुला राजवंशीलाई मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाह सम्बन्धी कसूरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।

यस मुद्दामा ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

जेठ ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्