कीर्तिपूरमा एकदिवसीय राष्ट्रिय क्रिकेट

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीद्वारा प्रदेश नं-२लाई २७९ रनको लक्ष्‍य

काठमाडौं- तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले प्रदेश नं-२ लाई जीतका लागि २७९ रनको चुनौती दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा आर्मीले  निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २७८ रनको योगफल बनायो। टस हारेर पहिले ब्याटिङ गरेको आर्मीका लागि राजु रिजाल र कप्तान विनोद भण्डारीले अर्धशतकीय इनिङ्स खेले। शुरुआती ब्याटम्यान राजुले ९० रन जोडे।

उनले दुई छक्का र चार चौकाको मद्दतमा ९० रन बनाएका हुन्। त्यस्तै विनोदले ६१ बलमा ९ चौकासहित ६६ रनमा क्याच आउट भए। यसैगरी रोहित पौडेलले ४७, हरी चौहानले २६, सुशन भारीले १२ तथा करण केसीले ११ रनको योगदान दिए।

प्रदेश-२ का हरिशंकर साह एक्लैले तीन विकेट लिए भने राशिद खान, विवेक यादव र विशाल सुसलिङले समान एक/एक विकेट लिए। शुक्रबारदेखि शुरु भएको उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्टले गरे।

प्रतियोगितामा आर्मीका लागि तीव्र गतिका बलर सोमपाल कामी भने बिमारी भएका कारण प्रतियोगितामा सहभागिता जनाएका छैनन्। प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ। जसमा समूह ‘ए’ मा एपिएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी रहेका छन्।

समूह ‘बी’ मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन्। प्रतियोगिताको विजेताले रु २० लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन्।

जेष्ठ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्