कांग्रेसलाई ‘छायाँ सरकार’को मलम

कांग्रेसले भर्खर निर्माण गरेको ‘छायाँ सरकार’को उद्देश्य आदर्श प्रतिपक्ष लागि होइन सायद। संसदीय अभ्यासमा ‘छायाँ सरकार’को व्यवस्था भए पनि आदर्श प्रतिपक्षको भूमिका कांग्रेसले निर्वाह गर्न सके पनि गर्न चाहँदैन। सदनमा डेढ वर्ष कांग्रेसले देखाएको  चरित्रले ‘छायाँ सरकार’ सत्ताविमुख रोगको उपचारका लागि बनाइएको हो भन्ने अनुमान गर्न सकिन्छ।

लामो समय नेपालमा कांग्रेस पार्टीको नाम जनताले सुनिरहे, त्यसको कारण कांग्रेसको सत्ता यात्रा नै हो। सात सालको प्रजातन्त्रप्राप्ति लगत्तै बनेको दोस्रो मन्त्रीमण्डलका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाबाट सुरु भएको कांग्रेसको सत्ता यात्रा पटकपटक गरी अन्तिम १६ औं शृङ्खला एक वर्षअघि (विसं २०७४) फागुनसम्म चलेकै थियो।

विसं २०१७ देखि ०४७ सालसम्म राजाले चलाएको पञ्चायती शासन अवधि वाहेकका बाँकी ३९ वर्षमा फाट्टफुट्ट बाहेक नेपाली सत्ताको रथ काँगेस आफैं सारथी बनेर गुडायो। राजा र राणासँग भन्दा कांग्रेससँग जनताको बेग्लै अपेक्षा थियो तर राजा र राणाको हुकमी सत्ताले भन्दा कांग्रेसको सत्ताले नेपालको धेरै कुरा गुमेको  विश्लेषण गर्नेहरुको कमी छैन।

सत्ताको फोहोरी खेल 

विसं २००८ सालमा बिपीका आफ्नै दाजु मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बने तर भाइ बिपीलाई दाइको नेतृत्व रुचेन। राष्ट्रघाती दिल्ली सम्झौतामा विधानसभाको निर्वाचन गर्ने भनेर पहिलो बुँदामै लेखेका थिए । तर, बिपीको सत्ता गणितले बिचमा मन्त्री परिषद्को नेतृत्व राजाको हातमा पुर्‍यायो।

दाजु मातृकालाई पाखा लगाउँदै गर्दा विधानसभाको चुनाव पनि पाखा लाग्यो। फलतः एकैचोटि ०१५ सालमा आम संसदीय चुनाव हुन पुग्यो। ०१५ सालको चुनावपछि दुई तिहाइ बहुमतसहितको सरकारको प्रधानमन्त्री बनेका बिपी र उनको सरकारलाई ०१७ सालमै राजाले अपदस्त गरे। सायद बिपीले त्यस बेला अन्य शक्तिसँग मिलेर हिँडेको भए राजाको आँट पुग्दैन थियो कि!

त्यहीं पञ्चायती शासन ढालेर बाममोर्चा र गणेशमानले पुनर्जीवित गरेको प्रजातन्त्रलाई गिरिजाको आफूकेन्द्रित राजनीतिले गन्धित बनायो। गिरिजाले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईमाथि नमिठो सत्ता गणित देखाए। फोहोरी सत्ताको खेल खेल्दै सधैं सत्ताको रसिलो स्वाद चुसेको कांग्रेसलाई गत वर्षको चुनावमा भने नेपाली जनताले भुस चखाए।

रोगको उपचार विधि खोज्न कांग्रेसलाई एक वर्ष लाग्यो, अन्ततः वर्ष दिनको तयारी पछि ‘छायाँ सरकार’ उपचार पद्धति अपनाउँदै छ कांग्रेस।

३९ वर्ष, २५ वर्षे सत्ता यात्रा

कांग्रेस पार्टीले पटक–पटकको सत्ता खेल जितेर चलाएको १६ वटा सरकारको दिन गन्दा ९,१३५ दिन र वर्ष गन्दा २५ वर्ष १० दिन पुग्छ । २०४७ देखि हालसम्मको २९ वर्ष र २००७ देखि २०१७ सम्मको १० वर्ष गरी पूरा ३९ वर्षमा एक्लै २५ वर्ष सरकार चलाएको कांग्रेसलाई जनताले सधैँ एउटै मात्र प्रश्न गरिरहे, २५ वर्ष देश चलाउँदा कांग्रेसले के गर्‍यो?

२००७ सालमै भारत परस्त दिल्ली सम्झौता गरेर राष्ट्रघातको श्रीगणेश गरेको कांग्रेसले तत्कालीन नेपालको, सेना प्रमुख, न्याय सल्लाहकार प्रमुख, मन्त्रीपरिषद्को सचिव, दरबारको मुख्य सचिव जस्ता राष्ट्रका गोपनीय उच्च पदमा भारतीय नै राख्ने र नेपालको सम्पूर्ण व्यापारिक लेनदेन मात्र भारतसँग गर्ने नेहरुको आदेशलाई शिरोपर गरी नेपाल फर्किएको दिल्ली सम्झौताको विरोध गर्दा २०११ सालमा कम्युनिष्ट कार्यकर्तामाथि गोली चलाइयो।

कांग्रेसको राष्ट्रघातका विरुद्ध लड्दा गोली खाएका ‘चिनियाकाजी’लाई आज हामी महान् सहिदहरुको पंक्तिमा भेट्छौं। त्यही समयमा प्रधानमन्त्री बनेका मातृकाप्रसादले अर्को राष्ट्रघाती ‘कोशी सम्झौता’ देशलाई उपहार दिए। उता ‘गण्डक सम्झौता’ बिपीले दिएको उपहार हो, जसले आज पनि सुस्ताबासीहरुलाई रुवाइरहेको छ।

‘कालापानीमा भारतीय सैनिक राख्ने’ सहमतिमा बिपीकै हस्ताक्षर छ। गिरिजाले ‘टनकपुर सन्धि’ गरेर देशै रुवाए। देउवाले ‘महाकाली सन्धि’गर्दा देशले सधैं घाटा व्यहोर्नु पर्‍यो। भारतकै इसारामा गिरिजाकै पालामा आर्थिक उदारीकरणको नीति लागू गरेर देशका हुँदा–खाँदाका सबै कलकारखानाहरु बन्द गराइए। तिनै कारखानाहरु बन्द गराइए बापत हजारौ कांग्रेसका नेता, कार्यकर्ताले अरबौं रुपैयाँ कमिसन खाए भन्ने आरोप अझै साम्य भएको छैन। कहिलेकाहिँ कांग्रेसीहरु आवेगमा आउँदा सबै कर्तुतहरु आफैं ओकल्छन्। घिनलाग्दो राजनीतिको गुरु कांग्रेसका नाममा नेपाली राष्ट्रियताको भित्ताभरी धेरै काला धब्बाहरु टाँसिएका छन्।

जनताले गतवर्ष २०७४ को चुनावमा ५ वर्षका लागि कांग्रेसलाई सुध्रिने मौका दिएका छन् । तर आदर्श प्रतिपक्षको भूमिका खेल्न छाडेर कांग्रेस ‘छायाँ सरकार’का नाममा अल्मलिएको छ।

कांग्रेसको २५ वर्षे शासनले नेपाली जनतालाई मात्र भारत परस्त कमजोर देश दियो। वर्षौँसम्म भारतीयहरुको अधिनमा चलेको नेपाली बजारलाई ‘चिनसँगको पारवहन र व्यापार सम्झौता’ले दुईतिरको बाटो खोलिदिएको छ। यसका लागि ओली सरकारलाई धन्यवाद दिनैपर्छ।

छायाँ सरकार’ आदर्श प्रतिपक्ष कि सत्ता स्वादको अभ्यास? 

कांग्रेसले विकासको बाटोमा सहभागी हुनुपर्छ र सकारात्मक रुपमा विकासवादी पार्टीको परिचय बनाएर अर्को पटक जनताको बिचमा जानुपर्छ भन्ने ठानेको भए राष्ट्रिय गौरवका आयोजनाहरुको विरोध र देशै भरका स्थानीय तहहरुमा विकास बजेट खर्च गर्ने काममा तगारो हाल्दैनथ्यो।

अरुलाई काटेर छोट्याउने र आफू अग्लिने धुनमा कांग्रेस अहिले पनि छ। देशभरका कांग्रेसी कार्यकर्ताहरु बजेट खर्च हुन नदिन निर्माण समिति बनाउने ठाउँमा भाँजो हाल्दैछन्। सरकारले गर्न थालेका दीर्घकालीन महत्वका कामहरुलाई कांग्रेस उल्टो प्रचार गरेर जनतामा भ्रम पैदा गर्दैछ।

कांग्रेस यति आत्तिएको छ कि जसले सरकारको विरोध गर्दछ, त्यहीँ सही ठोक्छ। जब विरोधको तीर आफैँतिर सोझिन्छ, अनि कुलेलम ठोक्छ। यस्तो अवस्थामा के कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने आशा गर्न सकिन्छ? छायाँ सरकार सत्ता स्वादको पुनरावृत्तिमात्र हो?

(देवकोटा नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता हुन्।)

जेठ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्