भारतमा कम्युनिष्ट हार्दा माधव नेपाल चिन्तित

माधवकुमार नेपाल।

नेपालगञ्ज-नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भारतमा कम्युनिष्टले एक सीट पनि नजित्नु दुःखद भएको बताएका छन्।

नेकपाको जिल्ला कमिटि सदस्यहरुलाई शुक्रबार नेपालगञ्जमा शपथ गराउदै वरिष्ठ नेता नेपालले भारतमा भएको कम्युनिष्टको पतनबाट नेपालका कम्युनिष्टले पाठ सिक्नु पर्ने बताए।

‘भारतमा कम्युनिष्टले एक सीट पनि जित्न सकेनन्, नेता नेपालले भने, त्यत्रो लामो शासन गरेको राज्यमा एक सीट पनि नजित्नु दुःखद हो। यसबाट हामीले पाठ सिक्नु पर्छ।’

नेता नेपालले जनता मुठ्ठीमा छन् भन्ने अहंकार, जनतासँगको सम्बन्ध कमजोर, भ्रष्टाचार, पद ओगट्ने काम नगर्ने प्रवृत्तिले पार्टी सिधिने बताए। उनले तीन महिनामा गर्ने भनिएको एकता यत्तिका ढिलो भएकोमा नेताहरुले आत्मालोचना गर्नुपर्ने बताए।

‘यहाँ कमजोरी भएको छ। तीन महिना गर्ने भनिएको एकता किन ढिला भयो ?, नेता नेपालले थपे, नेताहरु गम्भीर हुनुपर्छ। आत्मालोचना गर्नुपर्छ ।’

नेता नेपालले अहिले देशमा ५४ प्रतिशत कम्युनिष्ट रहेकाले त्यसलाई ७४ प्रतिशत पुर्‍याउन सबै लाग्नु पर्ने बताए। ‘अलिअलि त कांग्रेसलाई पनि छोडिदिऊ न’ नेता नेपालले हाँसे।

जिल्लामा एकीकरण सकिएकाले अब तल्लो स्तरको एकीकरण प्रक्रिया छिटो सम्पन्न गर्न र केन्द्र तथा जिल्लाबाट देशव्यापी अभियान चलाउनु पर्नेमा नेपालको जोड थियो।

नेकपाका ५ नम्बर प्रदेशका सहइन्चार्ज बलबहादुर राना, केन्द्रीय सदस्य महेश्वर गहतराज, दिनेशचन्द्र यादव, प्रदेश कमिटिका कार्यालय सचिव बलराम अधिकारी, नेकपा बाँकेका अध्यक्ष आइपी खरेलललगायतले एक ढिक्का भएर पार्टीलाई बलियो बनाउन सबै लाग्नु पर्ने बताए।

जेष्ठ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू