मेस्सीले अझै भुल्न सकेका छैनन् त्यो पीडा…

बार्सिलोनाका स्टार स्ट्राइकर तथा कप्तान लियोनल मेस्सीले आफ्नो खेल जीवनको खराब अनुभव या क्षणमा च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलमा लिभरपुलसँगको पराजय पर्ने बताएका छन् ।

पहिलो लेगमा ३–० को अग्रता लिएर पनि बार्सिलोना दोस्रो लेगमा पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो । सो हारले आफूलाई निकै पीडा दिएको मेस्सीले बताएका छन् ।

च्याम्पियन्स लिग हारको पीडामा राहतका लागि स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जित्ने लक्ष्य रहेको पनि उनले बताएका छन् । पछिल्लो चार वर्षमा पहिलो पटक पत्रकार सम्मेलनमा देखिएका ३१ वर्षे मेस्सीले मे ७ मा लिभरपुलसँग पराजित भएर च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलबाट बाहिरिएको स्मरण अझै पनि रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘सो हारको चोट हामीलाई गहिरोसँग लाग्यो । कोपा डेल रे जितेर सिजनको अन्त्य गर्ने लक्ष्य छ र यो नै उत्कृष्ट माध्यम हुनेछ पीडामा राहत दिने ।’

ला लिगाको उपाधि जितेको बार्सिलोनाले कोपा डेल रे फुटबलको फाइनलमा शनिबार राति भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्दैछ । मेस्सीले यो सिजन ला लिगामा ३६ गोल गरेका छन् ।

जेष्ठ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्