अमेरिकाले साउदी अरेबियालाई ८ अर्ब डलरको हतियार बेच्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बौँ मूल्य बराबरका हतियार साउदी अरेबियालाई बेच्ने भएका छन् । इरानसँग तनाव बढ्दै गएका बेला अमेरिकाले साउदी अरेबियालाई ८ अर्ब अमेरिकी डलर बराबरको हतियार बेच्ने भएको हो ।

राष्ट्रपति ट्रम्पले हतियार बेच्ने प्रक्रियामा कंग्रेसलाई बाइपास गरेका छन् । संघीय कानून अन्तर्गत निकै दुर्लभ रुपमा मात्रै प्रयोग हुने पक्षमार्फत ट्रम्पले हतियार बेच्ने प्रक्रियामा कंग्रेसलाई बाइपास गरेका हुन् ।

सामान्य रुपमा हतियारको कारोबार सम्बन्धी प्रस्ताव सुरुमा कंग्रेसबाट स्वीकृत गराउनु पर्छ । इरानसँग तवनाका कारण राष्ट्रिय सुरक्षामा चुनौती थपिएकाले यस्तो गरिएको ट्रम्पले दाबी गरेका छन् ।

अमेरिकी हतियार किन्न लागेको साउदी अरेयिबा इरानको चिरप्रतिद्वन्द्वी हो । तर हतियार सर्वसाधारण नागरिकमाथि प्रयोग हुन सक्ने खतरा रहेको भन्दै विभिन्न पक्षले चासो र चिन्ता व्यक्त गरेका छन् ।

अमेरिकाले संयुक्त अबर इमिरेट्स तथा जोर्डनलाई पनि हतियार बेच्ने तयारी गरेको स्रोतहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

जेठ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्