सक्कली र नक्कली मसला छुट्ट्याउन सकेन संसदीय समितिले

काठमाडाैँ – बजारमा छ्याप्छ्याप्ती भएको दुई प्रकारका बिएमसी मसलाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै दर्ता भएको उजुरीमाथि टुङ्गो लगाउन बसेको संसदीय समितिले कुन मसला सक्कली वा नक्कली हो भनेर छुट्ट्याउन सकेन ।

नक्कली मसलाको टुङ्गो लगाएर सम्बन्धित निकायलाई कारवाहीको निर्देशन दिन शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठकले सक्कली र नक्कली मसालको भेउ पाउन नसकेपछि समितिनै अलमलमा परेको छ ।
सक्कली मसला पहिचान गर्ने र नक्कली मसलाको आयातकर्तालाई कारवाही गर्ने उद्देश्यले समितिको बैठकमा छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, उद्योग सचिव, भन्सार विभागका महानिर्देशकलाई बोलाइएको थियो ।

बिएमसीको नाममा भेटिएको दुई मसलाको प्याकेट झण्डै दुरुस्तै थियो । मसलामा प्रयोग भएका तत्वका नाम एउटै र परिणाम एकै थिए । प्याकेट भने झट्ट हेर्दा उस्तै देखिए पनि गहिरिएर हेर्दा मात्र फरक देखिन्थ्यो । बिएमसी मसला सक्कली की नक्कली भनेर छुट्ट्याउन मन्त्री, सचिव, सांसद् निकैबेर घोत्लिएर पनि समिति निष्कर्षमा पुग्न सकेन ।

छलफलमा सहभागी हुने कोही सांसदले नक्कली मसलाको भन्सार जाँचपास गरेको भन्दै भन्सारतर्फ प्रश्न तेस्र्याए भने कतिले मसलाको गुणस्तर जाँच गरिनुपर्ने बताए । त्यस्तै केही सांसदले भने सक्कली बिएमसी मसालको आयातकर्ताले कारोवार कम देखाउन भन्सार छली गरेर नक्कली मसला भित्र्याएको हुनसक्ने आशङ्कासमेत गरे । बैठकमा केही सांसदले मसलामा मिसावट भएको छ भनेर आफूले मसलाको प्रयोग नै बन्द गरेको सुनाउनसमेत भ्याए ।

समितिमा उजुरी परेकै भरमा अलमल, अस्पष्टताकाबिच बैठकमा बोलाएको भन्दै उद्योगमन्त्री मातृका यादवले रोष प्रकट गरे । मन्त्री यादवले नक्कली मसला बजारमा देखिएको बारे सम्बन्धित निकायमा उजुरी आउनुपर्ने बताए । मसला नक्कली भएको भन्नेमा मन्त्रालयमा कुनै उजूरी नपरेको उनको भनाई थियो । मन्त्री यादवले भने, “कुन मसला नक्कली र सक्कली हो र कुन घातक छ भन्न सक्नुहुन्छ ? बिना प्रमाण कोही बोल्न हँुदैन ।” उनले खाद्य पदार्थमा हुने मिसावट रोक्न सरकार गम्भीर रहेको बताए ।

सांसद कृष्णबहादुर श्रेष्ठले तत्कालै उक्त मसलाको गुणस्तर छानबिन गर्न खाद्य प्रयोगशालामा पठाइनुपर्ने जोड दिँदै परीक्षणपछि मात्र कुन सक्कली र नक्कली हो छुट्टयाउन सकिने बताए । सांसद अमृतादेवी अग्रहरीले दैनिक उपभोग्य सामग्रीमा मिसावट भएको जनगुनासो व्यापक आएको उल्लेख गर्दै अखाद्य वस्तु बजारमा आउन नदिन सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने बताए । समिति सदस्य गोपाल बमले नेपालमै उत्पादन भए पनि मसला नक्कली भएको पाइएको हुँदा तत्कालै संसदीय उपसमिति बनाएरै छानबिन गरिनुपर्ने बताए ।

छलफलमा भन्सार विभागका महानिर्देशक रामेश्वर दङ्गालले नक्कली मसलाको आधिकारिकता जाँच गर्न तत्कालै सबै भन्सार कार्यालयलाई परिपत्र गर्ने उल्लेख गर्दै केही दिनभित्रै समितिलाई जानकारी गराउने बताए ।

जेठ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्