सगरमाथामा ‘ट्राफिक जाम’ छैन : पर्यटन विभाग

काठमाडौँ – सगरमाथा आरोहणको सिजन यो वर्षका लागि अन्तिम चरणमा पुगेको छ । केही यो वर्ष अहिलेसम्म ६०० जनाले आरोहरण गरेको प्रारम्भीक तथ्यांक आएको र यो यकिन भने नरहेको पर्यटन विभागकी पर्वातारोहण निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।
यस्तै यो वर्ष सबै हिमालमा गरेर १५ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाउनेमा सातजना सगरमाथाको आरोहणमा गएकाहरु छन् ।
पर्वातारोहण निर्देशक आचार्यका अनुसार अहिले सगरमाथाको माथिल्लो क्याम्पमा जामको अवस्था या आरोहीको लामो लाइन छैन । केही दिनअघि क्याम्प चारमाथि लामो लाइन लागेको र त्यसकै कारण दुई आरोहीको निधन भएको खबर आएको थियो । तर अहिले भने आरोहीको लाइन नरहेको उनले बताएकी छन् ।
आफूहरुले सगरमाथा आरोहणलाई व्यवस्थित गर्न र घुईँचो नहोस् भन्नका लागि विभिन्न एजेन्सीसँग मिलेर योजना बनाउने गरेको उनले दाबी गरेकी छन् ।
तर केही दिनअघि (बुधबार) केही बेर क्याम्प चारमाथि जामको अवस्था रहेको खबर आफूहरुले पाएको उनले बताएकी छन् । उनले भनिन्, ‘अहिले त्यस्तो लाइन लाग्नु पर्ने अवस्था छैन । हामीले व्यवस्थापन गरिरहेका छौँ ।’