हातभरि रौँ नै रौँ भएको त्यो व्यक्तिलाई म कसरी ‘मी टुु’ भनूँ?

प्रायः जसो बालबालिका आमाकै रेखदेखमा हुर्किरहेका हुन्छन्।  म र दादा भने सानै उमेरबाट बुवा–मुवाँबाट टाढा भएर बस्यौँ। बुवा–मुवाँसँग भेट वर्षमा दुईपटक मात्र हुन्थ्यो। उहाँहरुलाई भेट्न हामीले कि त दसैँ कुर्नुपर्थ्यो कि स्कूलको वार्षिक परीक्षा नै कुर्नुपर्थ्यो। उसो त अहिले पनि हाम्रो भेटघाट उस्तै नै छ। तर, परिस्थिति भने बिल्कुलै फरक छ।

हरेक पटक नयाँ वर्ष सुरु हुँदा नयाँ क्यालेन्डर भित्तामा झुन्डिन्थ्यो। भित्तामा झुन्डिएको क्यालेन्डर पहिला हेर्न म र दादा सधैँ तँछाड–मछाड गर्थ्यौँ। जति तँछाड मछाड गरे पनि सधैँ मैले नै जित्ने गर्थेँ। शायद दादाले बहिनी भनेर छोडिदिन्थ्यो होला। दादासँगको लडाइँ जितेर क्यालेन्डर हातमा पाउँदाको खुशी हुँदै, दसैँ कहिले छ भनेर सर्सर्ती क्यालेन्डरमा आँखा घुमाउँदै दुवै जना औँला भाँचेर महिना गन्न सुरु गर्थ्यौँ।

यसरी नै दिनहरु बित्दै थिए। म कक्षा तीनमा पढ्थेँ। अन्य वर्षझैँ त्यस वर्ष (२०६२ साल) पनि स्कूलले दसैँ बिदा एक महिना नै दिएको थियो। दसैँमा बुवा–मुवाँलाई भेट्न पाउने आशा बोकेर हामी दुई दाजु–बहिनी दाङबाट सल्यानतर्फ लाग्यौँ। त्यो समयमा आजभोलिको जस्तो माेबाइल फोनको सुविधा थिएन। हामी उहाँहरुलाई सल्यान आउने कुरा भन्दै नभनेर बसपार्कतिर हानियौँ। असोज महिना बसपार्कमा मानिसहरुको भिड। बल्ल–बल्ल सिट पायौँ। सिटमा बस्यौँ। बस घुइँकियो।

बुवा–मुवाँलाई भेट्न आत्तिएका हामी


तुलसीपुरबाट बिहान करिब ९ बजे गुडेको बस खाना खुवाउन भनी १ बजेतिर सल्यानको श्रीनरमा रोकियो। एकछिन बस रोकिँदा पनि हामीलाई अत्यास लागिरहेको थियो। बसमा बसेका धेरै जसोले खाना खाए। हामीलाई खानाको भाेकले भन्दा पनि बुवा–मुवाँलाई भेट्ने भोकले अत्याइरहेको थियो। खाना खाइसकेपछि चालकले बस स्टार्ट गरे। बस गुड्नै लागेको थियो, चालकलाई एकजना व्यक्तिले बस रोक्न इसारा गरे। दुईजनाले के कुरा गरे कुन्नि, चालकले हामी अर्थात यात्रु भएतिर टाउको घुमाउँदै भने, ‘विष्णु चन्दका छोराछोरी को हुनुहुन्छ?’ हामी वाल्ल।

दादा ‘हामी हौँ’ भन्ने भाव जनाउँदै बसिरहेको सिटबाट जुरुक्क उठ्यो। हामी तिर सर्रर नजर डुलाएर चालकले फेरि भने, ‘यो बसबाट ओर्लेर तुल्सीपुर जाने रे।’ चालकको कुरा सुनेर हामी झसङ्ग भयौँ। चालकले हामीलाई बसबाट ओलर्न फेरि आग्रह गरे। दाजुबहिनी आआफ्नो झाेला निकालेर बसबाट ओर्लियौँ। चालकसम्म खबर पुर्‍याउने अंकल बसको ढोका नजिकै उभिरहेका रहेछन्। हामी डराइरहेका थियौँ। उनले हामीलाई आफूसँगै लगे र आफ्नो होटलमा राखे। ती अंकल हाम्रो नजिक आएर भने, ‘तिमीहरुको बुवा–मुवाँ आज तुलसीपुर (घर) पुगिसक्नु भयो, यसरी कसैलाई भन्दै नभनेर किन हिँडेको हेर कति चिन्ता भयो घरमा।’ फेरि उनले थपे, ‘तिमीहरुलाई म तुलसीपुर जाने बसमा चढाइदिन्छु।’

अर्को बसको यात्रा


हामी तुलसीपुर जाने बस चढेर घरतर्फ लाग्दा करिब दुई बजिसकेको थियो। असोजको महिना भए पनि सिमसिम पानी परिरहेको थियो। मुवाँको गालीसँगसँगै बुवाको कुटाई भेटिने भो भन्ने डरले बाटोभरि दादा र म, एक अर्कालाई मुखामुख गरिरहेका थियौँ।

साँझको करिब ५ बजिसकेको थियो। कपुरकोट छँदै पानी परेका कारण राम्रीमा पहिरो गएको छ भन्ने खबर सुनिसकेका थियाैँ। चालकले हामी राम्री पुगन्जेल पहिरोले बाटो छेक्दैन भन्दै बस हुँइक्याए। बस कपुरकोटबाट राम्री पुग्दा पहिरोको वारिपट्टि र पारिपट्टि बसहरु लस्करै लाइन लागेर रोकिएका थिए। चालकले हामी चढेको गाडीको पनि ब्रेक लगाए। बसका यात्रु, चालक, सहचालक सबैले पहिरो पन्छ्याउने कोशिश गरे, तर पनि सकेनन्।

बस मोडेर फर्काउने ठाउँ नभएकाले बसका सबै यात्रु, चालकहरुले आ–आफ्नो बसमै बस्ने निर्णय गरे। जङ्गलको बीचमा भएका कारण पानी समेत पाउन मुस्किल थियो। शायद बसमा सबैभन्दा साना हामी दाजु–बहिनी भएका कारण होला बसका चालक र सह–चालकले दुईवटा बिस्कुट र एक बोतल पानी दिए। सह–चालकले पानी दिँदै भने, ‘बिस्कुट खान मन लागे अरु माग तर पानी चैँ अल्लि पुर्‍याएर खाऊ है।’ हामीले हुन्छ भन्ने संकेतले टाउको हल्लायौँ। र, बिस्कुट खायौँ। रात छिप्पिदै जाँदा बसमा को कहाँ सुत्ने भनेर कोलाहल मच्चियो। हामी दुई दाजु–बहिनीलाई सह–चालकले एउटा ब्ल्याङ्केट दिए र क्याबिनमा सुत्न भने। अन्य यात्रुहरु भन्दा हामीलाई सुत्नका लागि ठाउँ सजिलो थियो। हामी दङ्ग पर्दै ब्ल्याङ्केट ओढेर पल्टियौँ। पल्टिएको कुन बेला आँखा लाग्यो पत्तै भएन।

रङ्गीचङ्गी ब्ल्याङ्केटमा गुट्मुट्टिएको त्यो रात


मध्य राति जङ्गलको ठाउँ सुनसान त यसै हुने नै भयो। सबै मानिसहरु आफ्नो सपनीमा हराइरहेका थिए। उनीहरु सँगसँगै म पनि सपनामा हराइरहेकी थिएँ। मध्यराति झमझम पानी परिरहेकाले चिसो–चिसो महसुस भइरहेको थियो। सह–चालकले दिएको रङ्गीचङ्गी ब्ल्याङ्केट ओढेर क्याबिनमा म दादाको छेउमा गुटुमुटु परेर शायद गहिरो निन्द्रामा थिएँ कि? एक्कासी कसैले मेरो शरीरमा हात राखेजस्तो भयो। निदाइरहेको समयमा दादाले अँगालो हालेको होला भन्ने ठानेँ। त्यस हाततर्फ ध्यान नदिई निद्रामै हराउन खोजेँ। फेरि शरीरमाथि कसैले हात राख्यो। यो पटक हात राख्दा आफूलाई असहज भएको महसुस गरेँ र निदाइरहेका आँखा एक्कासी खुले।

अध्यारोमै भए पनि दादाको हात खोज्न थालेँ। म दादाको दायाँपट्टि सुतिरहेकी थिएँ। सोचे दादाको दायाँ हातले मलाई अँगालो मार्न सक्दैन। सोच्दासोच्दै त्यो हात फेरि मेरो शरीरमा आयो। यो पटक शरीरमा आएर मात्र फर्किएन। त्यो हात बिस्तारै मेरो छाती हुँदै योनीतर्फ लम्कियो। डरले मेरो मुटु फुल्यो। ठूलो अनि रौँ नै रौँ भएको त्यो हातलाई आफ्नो शरीरबाट हटाएँ। आफूलाई सुरक्षित राख्ने कोशिस गर्दै मैले कोल्टो फेरेँ।

उसको हात अझै रोकिएन। फेरि त्यो हात मेरो छाती हुँदै योनीसम्म पुग्यो। मेरो शरीरमा काँडा उम्रिरहेका थिए। ८–९ वर्षकी म आत्तिएँ। डरले सिमा नाघ्यो। तर के गर्ने भन्ने भेउ पाइनँ। अब कसरी बच्ने भन्ने पनि थाहा पाइनँ। रुन पनि सकिनँ। कराउन पनि सकिनँ। फेरि त्यो हातलाई हटाउने कोशिस गरेँ र हात हटाएँ। तर केही समय पछि फेरि त्यही क्रिया दोहोरियो। यो पटक भने उसको त्यो हात छातीसम्म जाने कष्ट गरेन। शायद छातीमा उसले खोजेको कुरा भेटेन क्यारे, त्यसैले सिधै योनीमा हात पुर्‍यायो। यो पटक उसको हात योनीसम्म मात्रै पुगेन, योनीलाई सुम्सुम्याउँदै मसार्न थाल्यो।

दबेको मेरो आवाज


लाग्यो- यो के भइरहेको छ? अब के हुने हो? डरले मुटु नै बाहिर निस्किएजस्तो भइरहेको थियो। तर हिम्मत गरेँ, उसको हातमा चिमोटिदिएँ। हात हट्यो। हात हटे पनि त्यो प्रकृया फेरि दोहोरिने डरले म जुरुक्क उठेँ। छेउमा गहिरो निद्रामा परेको दादालाई ‘दादा–दादा’ भन्दै झक्झकाएँ। दादा निद्राबाट बिउँझिँदै आश्चर्य हुँदै सोध्यो, ‘के भयो?’ उसले यति सोध्न नपाउँदै मैले भने, ‘म तेरो ठाउँमा सुत्छु, तँ मेरो ठाउँमा सुत न है।’ उसले फेरि पनि ‘के भयो र?’ भन्दै ठाउँ परिवर्तन गर्‍यो। म दादा सुतेको ठाउँमा सुतेँ र दादा म सुतेको ठाउँमा सुत्यो। ठाउँ परिर्वतन गर्ने बित्तिकै दादा निदायो,  ‘तर म भने निदाउन सकिनँ।’

त्यो हात सम्झेर म रातभर झस्किरहेँ। आँखा खुल्लै राखेर सतर्क भइरहे। ठाउँ परिर्वतन गरेपछि त्यो हात मेरो शरीरमा दोहोरिएन। शायद त्यो हातले मेरो शरीर भेट्न सकेन वा बीचमा सुतिरहेको दादालाई पार गरेर मेरो संवेदनशील अंग छोएर मज्जा लुट्न सलबलाइरहेको उसको त्यो हात रोकियो। उसलाई के कुराले रोक्यो, उसैले जानोस्।

शायद बिहानपख आँखा लागेछ क्यारे, दादाले उठाएपछि बिउँझिएँ। म उठ्दासम्म सबै मानिसहरु उठिसकेका थिए। राति मेरो शरीरमा हात डुलाउने नरपिचास को थियो, मैले पत्ता लगाउन सकिन। दादालाई हाम्रो छेउमा को सुतेको थियो भनेरसम्म पनि सोध्न सकिनँ। त्यो रातको घटनाले मेरो मनमा डेरा जमाइसकेको थियो। बिर्सन खोज्दा पनि मन झस्किरहेकाे थियो। त्यो रौँ नै रौँ भएको ठूलो हात मेरो मानसपटलमा घुमेको घुम्यै गर्न थाल्यो। राति के भएको थियो भनेर दादालाई व्यक्त गर्न पनि सकिनँ। न ऊसँग बोल्न नै मन लाग्यो।

बिहानको करिब १० बजेतिर बाटो खुल्यो। बाटो खुल्नासाथ बस आफ्नै गतिमा हुँईकियो। तर मलाई भने रातिकै कुराले अड्किरहेको थियो। आफैँलाई देखेर रिस पनि उठिरहेको थियो। मनमा अनेक कुराहरु खेलिरहेका थिए। मैले त्यो व्यक्तिको हात टोकिदिएको भए! म केटी नभएको भए! म कराएको भए! बिहानपख ननिदाएको भए, शायद त्यो को थियो भनेर थाहा पाउथेँ। बसमा भएका अन्य व्यक्तिले त्यसलाई पिट्थे होला। यस्तै नानाथरी कुरा मनभरि खेल्दै थिए। बसबाट ओर्लिने बेला भएछ। दादाले ओर्लिन इसारा गर्यो, दुवै जना ओर्लियौँ।

घर पुग्दा


बसबाट ओर्लिएको केही समयपछि घर पुग्यौँ। घर पुग्दा मलाई बुवा–मुवाँको डर भन्दा पनि त्यो रातको घटनाले झस्काइरहेको थियो। घर पुग्दा मैले भन्दा पनि दादाले धेरै गाली खायो। दादाले गाली खादा सधैँ रमाउने मलाई त्यो दिन रमाउन मन लागेन। खाना खान थाल्यौँ तर मलाई रुचेन। घरमा कसैलाई पनि मैले त्यो घटना सुनाउन सकिन। मेरो मनमा घुटन भइरहेको थियो। दसैँ सुरु भइसकेको थियो। बिस्तारै बिस्तारै टीकाको दिन पनि नजिकिँदै थियो। मलाई त्यो वर्षको दसैँ खासै रमाइलो लागेन। मन खुशी थिएन। त्यही घटनाले बारबार झस्काइरहेको थियो।

तर बिस्तारै दिनहरु बित्दै गए। महिना बित्दै गए। वर्ष पनि बिते। त्यो घटना घटेको अहिले १४ वर्ष भयो। तर त्यो दिन मेरो मानसपटलमा  अझै पनि ताजै छ। स्मरण गर्दा शरीरमा काँडा उम्रन अझै छाडेका छैनन्। रिसले सीमा पार गर्छ। तर म लाचार छु। म आफ्नै लागि केही गर्न सक्दिन।

पछिल्लो समय महिला हिंसाविरुद्ध संसारभर ‘मी टू’ अभियान चलिरहेकाे छ। धेरैले वषौँ पहिले आफूप्रति भएका हिंसालाई ‘मि टू’ अभियान मार्फत बाहिर ल्याइरहेका छन्। माथिल्लो ओहोदामा रहेका व्यक्तिले समेत आफ्नो पद त्याग्न बाध्य हुनु परेकाे छ।

तर म कसरी त्यो ठूलो अनि रौँ नै रौँ भएको हातलाई ‘मि टू’ को आरोप लगाऊँ? उसलाई कसरी बर्खास्त गरुँ? कसरी पहिचान गरुँ म, ऊ काे हाे? कसरी सामेल बनुँ म ‘मि टू’ अभियानमा?

जेष्ठ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्