किचकन्‍ने यादहरु

मेरा त यादहरु नि किचकन्‍ने नै हुन क्यार
खुट्टा खाली पछाडि नै फर्काई रहन्छन्।
श्वेत छन तिन्का आवरण पनि
तिम्रा सफेद झुटहरु जस्तै
तिम्रो झैँ मिलेको लचकदार बदनमा
यौवनको कामुकता छ तिन्को पनि
चल्मलाउँदै, सुम्सुम्याउँदै
खेल्छ्न ती पनि मेरो छालाको हरेक
रोम छिद्रमा पुग्ने गरी
फरक यति हो
तिमी तताउँथ्यौ तिनलाई
यिनले चिस्याई दिन्छन्।

हरेक रात रित्तो भित्तो हेर्दै छट्पटाउँछु म।
मैले उडाएको गाजाँको गन्धले कहिले तिम्रो
शरिरको गन्धलाई किन जित्दैन?
बरु तिमी सुवासिलो कुनै विदेशी अत्तर
घसेर आएकी भए हुन्थ्यो।
कतै महंगो दोकानमा गएर म यादहरु किन्थेँ
एक्लोपनमा कुनै बेला त्यही बासनाले
नाकलाई झुक्याउँथेँ
अनि एकपटक फेरि स्खलित हुन्थेँ।
अब मान्छेको गन्ध म कुन पसलमा किनौँ?

यो याद नि गजबको चिज छ
कहाँ कहाँ आउँछ
कसरी कसरी आउँछ
कहिले तिम्रो सुगन्ध सरी आउँछ।
कहिले तिम्रो आकृति धुँवा भरी छाउँछ।
त्यही भएर त मेरो कोठा आजकाल
यादहरुको पशुपति भएको छ।
जहाँ आर्यघाट नि छ,
अखडा नि छ,
लास नि छ बिगतको, जल्न तयार
वर्तमानको चितामा।
अनि एउटा दिव्य भाव पनि छ।

म बिस्तारामा उक्लन्छु,
ढलान हेर्दै पल्टन्छु।
त्यही बिस्तरा, जहाँ
म तिमी भित्र हराउथेँ
तिमी आफू भित्र मलाई पाउँथ्यौ।
मेरो डाम अझै तिमी भित्रै होला
पोल्दैन तिम्लाई त्यल्ले कहिले काहीँ?
मासुको नि स्मरण हुन्छ भन्छ्न
काउकुती नै भए नि लाग्न पर्ने हो? लाग्दैन ?

म लडि नै रहेछु निश्‍वास
ती यादहरु सल्बलाउँछन मेरो छाति भरी
तिमी त्यसरी सल्बालाउँदा
म रोमाञ्चीत हुन्थेँ
यिनले त जुका झैँ चुस्छन र शिथिल बनाउँछन।
उत्तेजित हुनै नपाई, त्यो चरमोत्कर्षको उचाइ छुनै नपाइ।
मासु त लाटो हुँदो रैछ, माया; प्रेम बिना; मुर्दै जस्तो।

तिमी आगो झैँ बल्थ्यौ, मेरो बिस्तारामा।
अझै न्यानै छ यो ओछ्यान
तिम्ले अघिल्लो पटक छोडे देखि ।
मेरो मासुको प्राण तिमी सँगै गए झैँ
कतै तिम्रो मासुको ताप मेरो बिस्तरामै त छुटेन?
मलाई डर लाग्छ।
भोलि नयाँ मासुको थुप्राको प्राण उडाउँदा
उसको बिस्तरामा छोड्न
तिम्रो मासुसँग ताप बाँकी रहेन भने?
मलाई अत्यास लाग्छ।

मेरा यादहरु पक्कै नि किचकन्‍ने नै हुन
खाली रातमा मात्रै आउँछन्
सुन्दर छन् ती, गोरो नरम छाला
लोलाएका आँखा।
तर खोक्रो छ तीनको नि ढाड ,मेरुदण्डविहीन
तिम्रो मेरो पिरतीको जस्तै।

हरेक रात म कामनाको दियो जलाँउछु
सुगन्धी धूप सल्काउँछु।
मृदङ्‌गको धुन बजाउँछु
किचकन्‍ने यादहरुलाई बिस्तरामा सुताउँछु
अनि चड्छु माथि।
घण्टौँ सम्म तपस्या गरे जस्तो एकोहोरो
एउटै कुरोमा मलाई अचम्म लाग्छ।
याद बनेर म संग सुतेकी त्यो किच्कन्‍ने
रात भरमा अनेक कामुक शरीर फेर्छे
तर त्यसमा अनुहार किन सधैं,
तिम्रो मात्रै हुन्छ?

जेष्ठ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्